सीमा क्षेत्रमा पर्यटन प्रवद्र्धन गरिँदै

पोखरा न्यूज -१६, जेठ ।
पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रले सक्रियता देखाएको छ ।

सीमा क्षेत्रका भारतीय शहरमा पुगेर त्यहाँका पर्यटन व्यवसायीमार्फत यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्न लागिएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा क्षेत्रीय होटल संघ सौराहाले संयोजन गरी सीमा क्षेत्रमा यहाँको पर्यटकीय महत्वका बारेमा अन्तक्र्रियामार्फत प्रचारप्रसार गर्न थालिएको छ ।

चितवन, नवलपरासी, मकवानपुर, बारा र पर्साका पर्यटन व्यवसायीको टोलीले यही जेठ १७ गतेदेखि पाँच दिनसम्म भारतीय शहरमा त्यहाँका पर्यटन व्यवसायीसँग छलफल गरेर यहाँको पर्यटनका बारेमा जानकारी गराउने भएको हो । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार पटना, लखनउ र वनारसमा कार्यक्रम गरिने छ ।

भारतीय पर्यटन बोर्ड, ट्राभल एजेण्ट, होटल व्यवसायी र पत्रकार सहभागी गराएर कार्यक्रम गरिनेछ । ती कार्यक्रममार्फत मुख्य रुपमा चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा भएका वन्यजन्तुको अवस्थाका बारेमा जानकारी गराइने छ । यस क्षेत्रका पर्यटकीय महत्व बोकेका ठाउँका बारेमा पनि जानकारी गराइने योजना छ ।

हात्तीपोलो, हात्ती दौडजस्ता जनावरसँग गरिने पर्यटकीय गतिविधिका बारेमा पनि अडियो भिडियोमार्फत जानकारी गराइने घिमिरेले बताउनुभयो । यस क्षेत्रका पर्यटकीय महत्व बोकेका ठाउँ र भारतीय शहरको दूरी, यहाँ आउन लाग्ने खर्च, यहाँका खाना, संस्कृति, परम्परालगायतका विषयमा जानकारी गराइनेछ ।

खुल्ला सीमाका कारण सहज रुपमा आवतजावत गर्न सकिने, एकैदिनमा आइपुग्न सकिने तथा छोटो समय र थोरै खर्चमा वन्यजन्तुसहितका पर्यटकीय महत्व बोकेका ठाउँको अवलोकन गर्न सकिने भएकाले भारतीय सीमा क्षेत्रका बासिन्दा यहाँ घुम्न आउन सहज हुने देखिन्छ । पर्यटन विकास समिति चितवनका अध्यक्ष दिलीप मैनालीले पहिलो पटक संस्थागत रुपमा उक्त अभियान शुरु गर्न लागिएको बताए ।

भारतको विहार र उत्तर प्रदेशमा आर्थिक अवस्था राम्रो भएकाले यहाँको पर्यटकीय महत्व बुझाउन सकेमा त्यस क्षेत्रका पर्यटक यहाँ भित्रिने सम्भावना छ । विहार र उत्तर प्रदेशको जनसंख्या करिब ३४ करोड भएकाले एक प्रतिशतमात्रै नेपाल भित्र्याउन सके पनि यहाँको पर्यटन फस्टाउने घिमिरेको भनाइ छ । हाल दुई लाख हाराहारी पर्यटक भित्रिने चितवनमा पाँच लाख पर्यटक पु¥याउने लक्ष्य राखिएको छ ।

हाल नेपालमा ३० प्रतिशत भारतीय पर्यटक आउने गरेका छन् । सोही हाराहारीमा चितवन आउने गर्छन् । पछिल्लो समय होटल क्षेत्रमा लगानी बढ्दै जाँदा पर्यटक नबढेपछि निजी क्षेत्र प्रचारमा जुटेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button