नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्न भारतीय पर्यटन व्यवसायीको सुझाव

पोखरा न्यूज -१९, जेठ ।
छोटो दुरीमा महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेरपनि प्रचारको अभावमा नेपालका पर्यटकीय गन्तव्यहरूमा भारतीय पर्यटकहरू पुग्न नसकेको यहाँका होटल व्यवसायी र टुर अपरेटरहरूले जनाएका छन् ।

उत्तर प्रदेशमा जनताको आम्दानी बढ्दै गएको र उनीहरू घुम्न रुचाउने भएपनि पहिलो गन्तव्य नेपाल बन्न नसकेको उनीहरूले जनाएका हुन् । नेपाल पर्यटन बोर्डको सहयोगमा क्षेत्रीय होटल संघ नेपाल, चितवन सौराहाले आज बनारसमा आयोजना गरेको अन्तक्र्रियामा सहभागी व्यवसायीहरूले नेपालका पर्यटकीय गन्तव्यको उचित प्रचारप्रसार गर्न आग्रह गरे । उनीहरूले होटलहरूको स्तर विकास गर्नपनि सुझाव दिएका छन् ।

बनारसी टुरिजम गिल्डका अध्यक्ष रसिद खानले नेपाल र भारतको भाषा, विचार, खाना मिल्ने भएको र दुरी छोटो भएकाले उचित प्रचारप्रसार गर्न सकेमा भारतीय पर्यटक नेपाल जाने बताए । महत्वपूर्ण पर्यटकीय गन्तव्य नेपाल भएपनि धेरै भारतीयलाई यसको बारेमा जानकारी नभएको उनले बताए ।

टुरीजम वेलफेयर एसोसिएसन, बनारसका अध्यक्ष राहुल मेहताले यहाँका जनतालाई नेपालका पर्यटकीय गन्तव्यको बारेमा थाहा नहुँदा अन्य देशमा जाने गरेको र छोटो दुरी भएपनि नेपाल जाने नगरेको बताए । यस खालका कार्यक्रम निरन्तर गर्न सकेमा भारतबाट धेरै पर्यटक नेपाल भित्र्याउन सक्ने बताए ।

होटल वजास ग्रान्डका महाप्रबन्धक एचएन पाण्डेले नेपालका धार्मिक स्थलहरू, निकुञ्जहरूको बारेमा यहाँका जनतालाई बुझाउन नसक्दा नेपालमा पर्यटक कम गएको बताए ।

यस्तै, डलफिन टुर्स एण्ड ट्राभल्सका सञ्चालक सिरमोर चन्दनले आफूले काठमाडौँ र पोखरा पर्यटक पठाएको भन्दै होटलहरूको स्तर सुधार्न पर्यटकले सुझाव दिएको बताए । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको बारेमा आज मात्र थाहा पाएको भन्दै उनले अब यी गन्तव्यहरूमा पनि पर्यटक पठाउने बताए ।

होटल मिडोजका महाप्रबन्धक अनुप प्रसादले पर्यटकीय स्थलहरूको प्याकेज निर्माण गरी यहाँको बजारमा प्रचार गर्न आवश्यक रहेको बताए । ट्राभल एजेण्टहरूले यहाँबाट नेपालमा हवाईयात्रा गर्दा हवाईयात्रा नियमित नहुँदा समस्या हुने गरेको बताएका थिए ।

‘चलिये पडोशी के पास, हरपल खुशहाल नजारा भी खास’ भन्ने नाराका साथ चितवन, बारा, मकवानपुरका पर्यटन व्यवसायी बिहीबार भारत आई प्रचारमा जुटेका हुन् । आज बनारसमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराई र चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले नेपाल र मुख्यरुपमा बारादेखि लुम्विनीसम्मका पर्यटकीय गन्तव्यहरूका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनिहरूको कार्यपत्रमा लुम्विनीदेखि बारासम्मका पर्यटकीय गन्तव्यहरू र दुरीको बारेमा उल्लेख गरिएको थियो ।

कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल (चितवन)का अध्यक्ष सुमन घिमिरेले भारतीय सीमा क्षेत्रमा नेपालको पर्यटकीय गन्तव्यका बारेमा प्रचार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले आगामी दिनमा पनि सबैको सुझावलाई मध्यनजर गर्दै सिमा क्षेत्रका भारतीय सहरहरूमा नेपालका पर्यटकीय क्षेत्रहरूको प्रचारलाई नियमितता दिने बताए । कार्यक्रममा पर्यटन व्यवसायी युवराज लामाले नेपालमा अब अशान्ति र अस्थिरता सकिएको भन्दै कम खर्चमा घुम्न सकिने महत्वपूर्ण गन्तव्य नेपाल भएकाले नेपालमा पर्यटक पठाईदिन आग्रह गरे ।

यसअघि शुक्रबार पटनामा कार्यक्रम आयोजना गरेको टोलीले आइतबार साँझ लखनउमा त्यहाँका व्यवसायीसँग कार्यक्रम गर्नेभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button