म्याग्दीमा उद्योग सञ्चालन भएपछि रोजगारीको अवसर

पोखरा न्यूज -२४, जेठ ।
म्याग्दी जिल्लामा नेपाली कागज उद्योग स्थापना भएपछि जंगलमा खेर गइरहेको लोक्ताको सदुपयोग हुनाका साथै स्थानीयवासीलाई रोजगारी र आयआर्जनको अवसर मिलेको छ ।

जिल्लाका विभिन्न ठाउँमा अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज उत्पादन गर्न उद्योग स्थापना गरिएको हो । जंगलमा लोक्ता संकलन, प्रशोधन र नेपाली कागज निर्माण गरेर आयआर्जन गर्ने अवसर मिलेको मालिका गाउँपालिका–५ देवीस्थानका मनबहादुर पुनले बताए । मालिका गाउँपालिकाको देवीस्थानमा ‘वेष्ट नेपाल लोक्ता पेपर एण्ड हेण्डीक्राफ्ट’ तथा अन्नपूर्ण गाउँपालिकाको नांगीमा ‘हिमाञ्चल सामुदायिक हाते कागज उद्योग’ सञ्चालनमा छ ।

मालिकाको अदिभारा, धौलागिरिको लमसुङ र रघुगंगाको पाखापानीस्थित नेपाली कागज उद्योग मौसमीरुपमा सञ्चालन हुँदै आएका छन् । एउटा उद्योगमा कम्तीमा चारजनाले प्रत्यक्ष र १० जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

देवीस्थानका वेष्ट नेपाल लोक्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योगका सञ्चालक लोकेन्द्र पुनका अनुसार प्रतिकिलो कागज रु ८०० देखि रु छ हजारसम्ममा बिक्री हुन्छ । सरकारी काममा बढी प्रयोग हुने नेपाली कागजबाट फाइल, डायरी, नोटबुकलगायत सामग्री बनाउन सकिन्छ ।

घरेलु तथा साना उद्योग विकास समिति र विभिन्न संघसंस्थाले स्थानीय स्रोत र सीपमा आधारित उद्योगको विकासका लागि सीपमूलक तालीम, अनुदानमा उपकरण वितरण तथा बजारीकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताए । स्थानीयस्तरमा उपलब्ध स्रोत, साधन र सीपमा आधारित उद्यम र व्यवसायमार्फत खेर गइरहेका प्राकृतिक स्रोत साधनको परिचालन गरी रोजगारी र आयआर्जनको वातावरण मिलाउने उनको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button