पोखरा- काठमाण्डौ – लुम्बिनीलाई बुद्ध स्वर्णिम त्रिकोणका रूपमा विकास गरिने

प्राथमिकतामा  पर्यटन

पोखरा न्यूज-२५, जेठ । 

प्रदेश  ४ को प्रदेशसभा बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा अन्तर प्रदेशसँगको सहकार्यमा पोखरा–काठमाडौं–लुम्बिनीलाई बुद्ध स्वर्णिम त्रिकोणका रूपमा विकास गरिने उल्लेख गरिएको छ ।

बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले पर्यटन पूर्वाधारलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा लिइएको बताउदै पर्यटन क्षेत्रको एकीकृत विकास गर्न स्पष्ट कार्ययोजना सहितको पर्यटन विकास गुरुयोजना तयार गरिने बताए । प्रदेश प्रमुख  कुँवरले धार्मिक– सांस्कृतिक– ऐतिहासिक – पुरातात्विक महत्वका स्थलको संरक्षण र पूर्वाधारको विकास गरिने  तथा वातावरणीय संरक्षण गर्दै  पर्यटकीय पूर्वाधारको विकास  गर्ने नीति लिइने जनाए ।

जैविक र साँस्कृतिक विविधता एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण चार नम्बर  प्रदेशमा रहेका पर्यटकीय गन्तव्यको पहिचान, विकास र सम्वद्र्धन गर्दै पर्यटन उद्योगको प्रबर्धन  गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले पर्वतारोहण, पदयात्रा, हिमशृङ्खलाको अवलोकन, कृषि पर्यटनजस्ता कार्यक्रमलाई जोड दिने उल्लेख गर्दै पर्यटकीय आकर्षणका लागि विभिन्न साहसिक पर्यटकीय खेलको आयोजना गर्ने जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रममा संघ र स्थानीय तहसँगको सहकार्यमा प्रदेशका महत्वपूर्ण ताल, पोखरी र कुण्डको संरक्षण, विकास र सौन्दर्यीकरणका लागि ताल संरक्षण विकास प्राधिकरण गठन गरिने उल्लेख छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा पर्यटकका लागि आवश्यक पर्ने सेवा र सूचनाको प्रवाह गर्न पर्यटन सेवा सूचना केन्द्र स्थापना गर्दै लगिने उल्लेख छ । पर्यटन व्यवसायको बजारीकरण गर्न आधुनिक सूचना प्रविधिको उपयोग गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रदेशको पर्यटकीय छवि स्थापित गर्न पर्यटकीय सम्पदा र स्थलको ब्रान्डिङ गर्दै लगिने बताइएको छ ।

सरकारले पर्यटकको प्रवेशदेखि बहिर्गमनसम्मको एकीकृत कार्यक्रम तयार गर्न प्रोत्साहन गर्ने भनेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु क्षेत्र, ढोरपाटन शिकार आरक्ष, विभिन्न ग्रामीण पर्यटन केन्द्र, घरबास र पदयात्रा मार्गलाई संरक्षण, संम्वद्र्धन, सौन्दर्यीकरण र विकास गर्दै पर्यटकीय गन्तव्यको प्रबर्धन  गरिने, मुस्ताङ, मनाङ र गोरखाको चुमनुब्रिलाई अन्तर्राष्ट्रियस्तरको चलचित्र छायाङ्कन केन्द्रका रूपमा विकास गरिने सरकारको योजना छ ।

प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गरिने तथा पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधार विकासलाई आर्थिक इञ्जिनका रुपमा विकास गरिने उल्लेख छ । ऊर्जा विकास, कृषि पशुपालन, फलफूल खेती र सिँचाइ, औद्योगिकीकरण, वन तथा वातावरण, स्तरीय भौतिक पूर्वाधार प्रदेश विकासको आधारका रुपमा रहनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button