सिङ्गापुर वार्ता : विश्वको अपेक्षा शान्ति र एकता

पोखरा न्युज -२९, जेठ ।
जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो ।

तर मङ्गलबार बिहानको पहिलो बैठकमै उत्तर कोरियाली नेता किम जोङ् उन आणविक निशस्त्रीकरणमा सहमत भएपछि त्यो प्रतिक्षाको अन्त्य सुखद हुन पुगेको हो ।

अमेरिका र लगभग विश्वले नै कडा मिजासका दुवै नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम पहिलो वार्तामा कसरी प्रस्तुत हुन्छन् त्यसैमा वार्ताको भविश्य निर्भर रहन्छ भन्दै परिणामको पर्खाइमा थिए ।

जब दुवै नेताले पृष्ठभूमिमा राखिएका दुवै देशका झण्डाको अघि उभिएर हात मिलाए र मुस्कुराए तब उनिहरुको ‘बोडी ल्याङ्ग्वेज’ शारिरीक भाषाले केही बोलिसकेको थियो । उनिहरुको केही क्षणको एक्लाएक्लै वार्तापछि समाचार पनि सकारात्मक नै बाहिर आयो। अमेरिकाले भन्ने गरेको निशस्त्रीकरणको मागमा उत्तर कोरिया सहमत भयो र अमेरिकाले पनि यसलाई सकारात्मक रुपमा लियो ।

यससम्बन्धी महत्वपूर्ण दस्ताबेजमा दुवै नेताले हस्ताक्षर गरे । चार वुँदै सो दस्ताबेज वास्तवमै ऐतिहासिक र महत्वपूर्ण रहेको बताइएको छ । उक्त दस्ताबेजमा उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कुरामा प्रतिबद्धता जनाउनु मत्वपूर्ण हो ।

उनिहरुले अभूतपूर्व वार्ता गरेपछि उक्त संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरे । त्यस क्षणलाई राष्ट्रपति ट्रम्पले नै एक अभूतपूर्वा क्षण भनेका छन् । राष्ट्रपति ट्रम्पले केहीबेर अघि भएको वार्ताबाट महत्वपूर्ण उपलब्धि हासिल भएको र यसबाट आफूले निकै गर्वको अनुभूति गरेको बताएक थिए ।

उनिहरुबीचको एक्लाएक्लै वार्तामा नै नेता किमले अब दुई देशबीचमा नयाँ सम्बन्धको अध्यायको सुरुआत भएको र विगतका कुरा विर्सिएको भनी दिएको तर्कबाट नै राष्ट्रपति ट्रम्प प्रभावित भएका थिए । त्यस लगत्तै सम्वाददाताहरुलाई राष्ट्रपति ट्रम्पले अब अमेरिका र कोरियाली प्रायद्वीपबीचको सम्बन्ध पनि भिन्न रुपमा अघि बढ्ने बताए ।

अमेरिकी राष्ट्रपतिको यो अभिव्यक्तिलाई उता कोरियाली सञ्चारले भने बडो महत्वका साथ प्रचार गरेका छन् । उनीहरुले अमेरिकाले उत्तर कोरियाली नेताको प्रस्ताव स्वीकार गरेको भन्ने अर्थमा प्रचारमा ल्याएका थिए । दुवै पक्षले इतिहासमै विशेष सम्बन्धको विकास गरेको भनेर खुसी पनि व्यक्त गरेका छन् ।

यतिमात्र होइन कि उत्तरका नेता किमले बैठक ऐतिहासिक र महत्वपूर्ण भएकोले आगामी केही समयमै विश्वले नै ठूलो र सकारात्मक परिवर्तन देख्नसक्ने धारणा राखे । उता अमेरिकी राष्ट्रपतिले पनि आफूहरु अब छिट्टै ह्वाइट हाउसमा भेट्ने प्रतिक्रिया दिए । वार्तामा आफूले नसोचेको प्रगति भयो उनले भने ।

संयुक्त राज्य अमेरिकाले उत्तरकोरियाले पूर्ण रुपमा प्रमाणिकरण गर्न सकिने खालको परमाणु निशस्त्रीकरणमा जोड दिएको थियो । उता उत्तर कोरियाले पनि ठूलो खतरा मोल्दै यस अगावै आफ्ना परमाणु परीक्षणस्थल भत्काएको थियो । उत्तरले वार्ताको वातावरण त उहिलेदेखि नै निर्माण गर्दै आएको थियो । तर पनि यी दुई नेताको स्वभाव र प्रकृतिका कारण वार्ताको टेबलमै बसेपछि मात्र विश्वास लाग्ने भनाई विदेशी समुदायको थियो ।

यो वार्ताका लागि राष्ट्रपति ट्रम्पले आफैले खतरा मोलेको भनाई छ अधिकांशको । उनले नै सत्तामा आएपछि पहिलेको तुलनामा झन कडा रुपमा नाकाबन्दी लगाएका थिए । त्यतिमात्र नभएर उनले उत्तरका विरुद्धमा सैन्य कारबाही गर्न समेत एसियाको नेताहरुको सहमतिका लागि एसिया भ्रमणमा निस्किएक थिए । अमेरिकी अधिकारीहरु पनि राष्ट्रपतिले अनावश्यक मानिससँग वार्ताको खतरा मोलेको बताएका थिए । तर उनि कम्तीमा एक पटक वार्ताको टेबलमा बस्ने अडानमा रहे र आज त्यो सफल पनि भयो ।

अर्कातर्फ उत्तर कोरियाली नेता किमका लागि भने यो निकै ठूलो अवसर बन्न पुगेको छ । छ महिनाअघि सम्म एक अर्कालाई सिध्याइदिने भन्नेजस्तो अवस्था रहेकोमा अमेरिकी राष्ट्रपतिसँग एउटै दस्ताबेजमा सही गर्न पाउने र एक्लाएक्लै वार्तामा बस्न पाउने पनि ठूलो अवसर भएको भनाई छ । यसबाट आफ्नो देशमाथि लागेका सबै प्रकारका नाकाबन्दीहरु हट्ने अपेक्षा उत्तरले गरेको छ ।

यस वार्ताको सफलताबाट विश्वले गरेको अपेक्षा हो शान्ति र एकता । त्यो शान्ति उत्तर कोरियाले पालना गर्ने निशस्त्रीकरणबाट सुरु हुन्छ, जुन प्रतिबद्धतामा उसले हस्ताक्षर गरेको छ । कोरियाली प्रायद्वीपमा आणविक परीक्षणमात्र रोकिँदा, अमेरिका र उत्तर कोरियाबीच हतियारको होडका अभिव्यक्ति नआउँदा मात्र पनि विश्वमा शान्तिको स्थापना हुने अपेक्षा छ ।

त्यस्तै विश्वले चाहेको एकता दुई कोरियाबीचको एकता हो । सन् १९५३ मा अनायासै एउटै कोरियाका नागरिक विभाजन भएपछि आजका दिनसम्म जुन पीडा उनीहरुले भोगेका छन् त्यसले समय समयमा विश्वकै नागरिकलाई पनि बडो स्तब्ध गराउने गर्छ । यी कोरियाको पारिवारिक पुनर्मिलनमा देखापर्ने दृश्यहरुले सबैको ध्यान तान्ने गर्दछ । त्यसैले यो वार्ताको सफलतापछिको विश्वको अपेक्षा यी दुई देशबीचको एकता पनि हो ।

निशस्त्रीकरणमा प्रतिबद्धता छौँ– किम

यसैबीच उत्तर कोरियाली नेता किम जोङ उनले सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताको क्रममा कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता जारी गरेका छन्  ।

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको एक सम्झौतामा कोरियाली प्रायद्वीपमा नै पूर्ण निशस्त्रीकरण गर्ने सहमतिसहित हस्ताक्षर गरेका छन् ।

दुई नेताले सिङ्गापुरमा भएको वार्तापछि एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यस वार्तापछि गर्वको अनुभव भएको ट्रम्पले बतायेक छन् ।

अमेरिकाले उत्तरकोरियाको पूर्ण, प्रमाणिकरण गर्न सकिने र उल्टाउन नसकिने प्रकृतिको परमाणु निशस्त्रीकरणका लागि जोड दिँदै आएको थियो ।

ह्वाइट हाउसमा फेरि भेट्छौँ– ट्रम्प

यसै वार्ताबाट प्रभावित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतालाई फेरि भेट्ने बचन दिएका छन् । सिङ्गापुरमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले नेता किमलाई ह्वाइट हाउसमा भेट्ने बचन दिएका हुन् ।

ट्रम्पले सम्झौता हस्ताक्षर समारोह समापनपछि ‘हामी फेरि भेट्छौँ, सम्भवत हामी ह्वाइट हाउसमै भेट्छौँ भने । दुई नेताबीच भएको पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न भएका ट्रम्प उत्तर कोरियाली नेतासँग बारम्बार भेटगर्ने पनि बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button