प्रदेश ४ को नीति तथा कार्यक्रम पारित

पोखरा न्यूज- २९, जेठ ।

प्रदेश नं ४ को आज बसेको बैठकले प्रदेश सरकारको २०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो । यसअघि नीति तथा कार्यक्रम माथिको छलफलमा प्रदेशसभा सदस्य मायानाथ अधिकारी, कृष्णचन्द्र पोख्रेल नेपाली, रामजी बराल(जीवन), कृष्ण थापा, मोहनप्रसाद रेग्मी, मणिभद्र शर्मा, मधुमाया अधिकारी गुरुङ, कृष्णबहादुर थापा, आशा कोइराला, इन्द्रलाल सापकोटा, विन्दुकुमार थापा, दिलमाया रोकाहामगर, राजिव पहारी, सरिता गुरुङलगायतले भाग लिएका थिए  ।

प्रदेशसभामा बोल्ने सदस्यमध्य सत्तापक्षीय सदस्यले नीति तथा कार्यक्रमले प्रदेशको समृद्धि र विकासका लागि मार्ग निर्देशक भएको धारणा राखेका थिए  भने प्रतिपक्ष दलका सदस्यले नीति तथा कार्यक्रम महत्वकांक्षी भएको उल्लेख गरे  ।

छलफलमा उठेका जिज्ञाशाको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारको भूमिकालाई थप प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको भरपूर उपयोग गरी प्रदेशको समृद्धि र विकासलाई अघि बढाइने बताए ।

विशेष गरी पर्यटन, कृषि, ऊर्जा, उद्योग र भौतिक निर्माणमा जोड दिइएको बताउँदै उनले संघीयताको कार्यान्वयनमा यस प्रदेशलाई नमूना प्रदेश बनाइने बताए ।

यही जेठ २५ प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत  गरेका थिए  । प्रदेशसभाको अर्को बैठक बुधबार अपराह्न २ बजे बस्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button