म्याग्दीमा स्थानीयले जुटाए विद्यालय भवन निर्माणका लागि रकम

पोखरा न्युज -३०, जेठ।
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका स्थानीयले विद्यालय भवन निर्माणको लागि रु एक करोड २९ लाख जुटाएका छन् ।

भकिम्लीको जयन्ती माविको भवन निर्माणका लागि स्थानीयले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सो रकम जुटाएका हुन् ।

पुरानो भवन जीर्ण भएपछि सरकारी निकायबाट अपेक्षा गरेअनुसारको सहयोग नमिल्दा स्थानीयले आफ्नै पहलमा रकम जुटाएर पुरानो भवनलाई भत्काई नयाँ भवन निर्माण शुरु गरेका थिए । ३० कोठे सुविधासम्पन्न भवन अहिले अन्तिम चरणमा पुगेको विद्यालयका प्रधानाध्यापक रामबहादुर थापाले जानकारी दिए ।

विद्यालय भवन निर्माणका लागि साविकको जिल्ला शिक्षा कार्यालय हाल शिक्षा विकास तथा समन्वय एकाइबाट जम्मा ३१ लाख ४४ हजार अनुदान प्राप्त भएको विद्यालयका प्रधानाध्यापक थापाले बताए ।

थापाले भौतिक पूर्वाधार निर्माणमा यूके, हङ्कङ, अमेरिका, स्पेन, बेल्जियम, कतार, जापानलगायत विश्वका विभिन्न देशमा रहेका भकिम्लीवासी प्रयास अतुलनीय रहेको बताए । पटकपटक भत्किएर मर्मत गरी पुनःमर्मत गरिएका भवनलाई विस्थापित गर्ने स्थानीयको पहललाई विदेशमा रहेका नेपालीसमेत उत्साहित भएका छन् ।

भवन निर्माणमा रु ५० देखि पाँच लाखसम्म चन्दा हाल्ने चन्दादातालाई सम्मान गरिने विद्यालयले जनाएको छ विद्यालय भवनको अन्तिम ढलान बाँकी रहेको छ ।

भवनमा बेल्जियममा सञ्चालित हिमालयन प्रोजेक्टका पाउल भान्द्रेले रु १५ लाख सहयोग गरेका छन् । उत्तरी म्याग्दीको घार चित्रेकी निता बुदुजा पुनका श्रीमान समेत रहेका पाउलले करीब रु ४५ लाख सहयोगको प्रतिबद्धता जनाएका छन् । थप रु एक करोड संकलन गर्ने लक्ष्य रहेको विद्यालयले जनाएको छ ।

वडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले निर्माणको अन्तिम चरणमा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट सात कोठे भवनका लागि बजेट विनियोजन भए पनि बाँकी सबै चन्दा संकलन गरिएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button