पोखरामा छोरा र श्रीमतीको घाँटी रेटेर आत्महत्या प्रयास! छोराको घटनास्थलमै मृत्यु, गर्भको बच्चाको समेत मृत्यु

पोखरा न्यूज- ३०, जेठ ।

पोखरा लेखनाथ महानगरपालिका- १५ कालिकामार्ग रामबजारमा  मंगलबार राति एकै परिवारका तीन जनाको घाँटी रेटिएको छ । ११ वर्षीय छोरोको घटनास्थलमै मृत्यु भएको छ भने बुबा र आमाको गम्भिर अवस्थामा उपचार भइरहेको छ । गर्भवती अवस्थामा रहेकी महिलाको  पेटमा रहेको बच्चाको समेत  मृत्यु भएको प्रहरीको भनाई छ ।

मकवानपुर बकैया गाउँपालिका, ठिंगन घर भई पोखरा बस्दै आएका ३८ वर्षीय राम्जी घलेले आफ्नी श्रीमती सुमित्रा र छोरा ज्ञापनको घाँटी रेटेर आफू पनि घाँटी रेटेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एकै घरमा रहेकी सुमित्राकी आमाले ज्वाँईंले नै नाति र छोरीको घाँटी रेटेको बताएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए । राम्जीको अहिले मनिपाल शिक्षण अस्पताल र सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । दुवै जना बोल्न सक्ने अवस्थामा नरहेकाले घटनाबारे थप विवरण आउन बाँकी छ ।

रामजी र सुमित्रा, ११ वर्षीय छोरा र सासु (सुमित्राकी आमा) सँगै बस्दथे । सुमित्राकी दिदीबहिनीलाई आमा धनमाया ठकुरीलेसँगै राखेकी थिईन् । जेठी छोरी घरजग्गा बेचेर गएपछि धनमाया कान्छीसँगै बसेकी थिईन् । सुमित्रा र छोरो मुख्य कोठामा सुत्थे भने राम्जी कोठामै जोडिएको किचनमा सुत्ने गर्दथे ।

धनमायाका अनुसार सधैं छोरी ज्वाईंले ढिला बत्ती निभाउथे । मंगलबार भने चाँडै नै बत्ती निभाए । राति साढे १ बजेपछि छोरी रुनकराउन थालिन् । गर्भवती सुमित्रा बाहिर निस्केर आमाको कोठाको ढोका ढक्ढक्याउन थालिन् । धनमायाले ढोका खोलेर हेर्दा सुमित्रा रक्ताम्मे थिईन् । धनमायाले के भो ? भन्दा सुमित्राले ‘यसले छोरो मार्यो । मलाई नि मार्न लाग्यो । तपाईंलाई नि मार्छ ढोका लगाउनु ।’ भनिन् । घाँटीबाट रगत बगिरहेको बेला सुमित्राले औंलाले भित्तामा केहि लेखेको धनमायाले प्रहरीसँग बयान दिएकी छिन् । कोठामा छोरो ज्ञापन रगतको आहालमा डुबेका थिए भने राम्जी पनि रक्ताम्ये रन्थनिरहेका थिए ।

त्यसपछि हारगुहार गरेपछि छिमेकीहरु जम्मा भए । सुमित्रालाई क्षेत्रीय अस्पताल लगियो । ३ बजेतिर जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय रामबजारको टोली घटनास्थल पुग्यो । राम्जी छटपटिरहेको देखेपछि उनलाई पनि अस्पताल लगियो । राम्जीलाई थप उपचारका लागि बिहान ७ बजेपछि गण्डकी अस्पतालबाट मनिपाल अस्पताल लगिएको छ ।

३ वर्षीया सुमित्राको पेटको बच्चा खेर गएको छ । अस्पताल ल्याएपछि डाक्टरले बच्चा मरेको हुन सक्ने बताएपछि अपरेशन गर्दा मृत बच्चा निकालिएको प्रहरीले जनाएको छ । राम्जी र सुमित्रा दुवैलाई अपरेशन पश्चात् पोस्ट अपरेटिभ वार्डमा सारिएको छ । ११ वर्षीय छोरोको पोष्टमार्टम भईनसकेको अस्पतालका प्रहरी हवल्दार सुजन घिमिरेले जानकारी दिए ।

पेन्टरको काम गर्दै आएका राम्जी घलेलाई चिन्नेजान्ने सबैले मिठो बोल्ने र मिलनसार व्यक्तिका रुपमा चिन्छन् । निकै मेहनती राम्जी कहिल्यै पनि श्रीमतीसँग झगडा गरेको छिमेकीले थाहा पाएका छैनन् । गर्भवती सुमित्राले पेट दुख्यो भनेकाले मंगलबार राति पनि भोलि जचाउँन जाउँला भनेर सुतेको आमालाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

छिमेकीहरु राम्जीले कसरी यस्तो काम गर्न सक्छन् ? भन्दै आश्चर्य मानिरहेका छन् । राम्जीकै गाउँका निकट एक व्यक्तिले नाम नखुलाउने शर्तमा राम्जी पछिल्लो समय डिप्रेशन वा अफ्ठ्यारोमा परेको हुनसक्ने बताउँछन् । ‘म पोखरा आउने बित्तिकै राम्जी मलाई भेट्न खोजिहाल्थ्यो । तर पछिल्लो समयतिर उनको फोन सधैं अफ हुने तर त्यही नम्बरबाट आफूलाई फोन आउने गर्दा म अचम्म मान्थेँ । उसले के कारणले फोन अफ गरेर राख्थ्यो ? र आफूलाई आवश्यक पर्दा मात्र फोन अन गर्ने गर्छ भन्नेमा म अहिले छक्क परिरहेको छु । परिवारसँग झगडा नगर्ने, छोरोलाई असाध्यै माया गर्ने मान्छेले कसरी रेट्यो होला ?’ उनले भने । राम्जी र सुमित्राकै फेसबुकमा तीन जनौ परिवारको कभर फोटो छ । राम्जीले फेसबुकमा आफ्नो छोरोको फोटो नै पोस्ट गरिरहन्थे । छोराकै फोटो समेत प्रोफाईल पिक्चर बनाउथे ।

राम्जीको परिवार राम्रै परिवारको हो । उनका दाइ चक्रबहादुर घले मकवानपुरमा पञ्चायतकालमा कहलिएका व्यक्ति हुन् । यहाँ पेन्टर भएपनि राम्जीले राम्रै कमाई गर्थे । सुमित्राले फुलबारी रिसोर्ट चलिरहँदा त्यहाँ काम गर्थिन् । रामबजारमा महिला समूहमा उनी सक्रिय थिईन् ।

स्रोत/साभार – गण्डक न्यूज

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button