पोखरामा मेयर जिसीले डोजर चलाउदा पत्रकारसहित ३ घाइते

पोखरा न्युज -०१, असार  ।

पोखराको फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) को उद्घाटनका क्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले जेसिभी चलाउदा ३ जना सख्त घाइते भएका छन्। उद्घाटनको क्रममा मेयर जिसीले अचानक जेसिभि चलाउन खोज्दा जेसिभिले फिर्केको रेलिङमा धक्का दिएपछि ५ जना खोलामा खस्दा ३ जना  घाइते भएको स्थानियले बताए ।

यसरी फिर्के खोलामा खस्नेहरुमा पत्रकार रञ्जन अधिकारी, सन्देश श्रेष्ठ, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ बाट उद्घाटन कार्यक्रममा सहभागी हुन आएकी प्रगती आमा समूहकी गौरी पौडेल लगायत ५ जना थिए । खोलामा खस्ने मध्ये पौडेललाई सबैभन्दा बढी चोट लागेको छ । उनको दाहिने खुट्टाको कम्मर मुनिको भाग, देब्रे खुट्टाको घुँडा मुनि र कोखामा चोट लागेको छ । पत्रकार रञ्जन अधिकारीको हात, खुट्टा र निधारमा चोट लागेको छ भने श्रेष्ठको दाहिने हातको कुहिनामा सामान्य चोट लागेको छ ।

उक्त कार्यक्रमको उद्घाटनको क्रममा मेयर जिसी जेसिभीमा चढे पछि सावधानि अपनाउन नसक्दा जेसिभिले रेलिङमा धक्का दिन पुग्दा उद्घाटनको फोटो खिच्न तयारी अबस्थामा रहेका पत्रकार तथा स्थानियहरु फिर्के खोलामा रहेको रेलिङसंगै खोलामा पुगेका हुन। प्रमुख जिसीसँगै जेसिभीका अप्रेटर पनि रहेका थिए । अचानक जेसिभी चलेर त्यसको टाउको तिरको भाग बकेटले रेलिङलाई धक्का दिएको थियो ।

घाइते पत्रकार रञ्जन अधिकारी

यसैबिच, पोखराको बिच भाग भएर बग्ने फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) निर्माण शुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको १ करोडको लागतमा फिर्के खोलाको दुबैतर्फ फुट ट्रयाक खोल्न लागिएको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ मा पर्ने सिद्धार्थचोक र प्रस्याङचोकको बिचमा रहेको फिर्के खोलाको किनारमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले फिर्केको ट्रयाक खोल्ने कार्यको जेसिभी चलाएर उद्घाटन गरेका हुन् ।

फिर्के खोलाको ६ किलोमिटर क्षेत्रफलमा फुट ट्रयाक बनाईने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष डिबी नेपालीले जानकारी दिए । उनका अनुसार हाल ३० लाखको लागतमा फिर्केको दुबैतर्फ २/२ मिटरको ट्रयाक खोलेर सम्याईनेछ । थप बजेट प्राप्त भएपछि बाटो ब्यबस्थित बनाउनुका साथै पूर्वाधारसमेत निर्माण गरिने वडाध्यक्ष नेपालीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button