रोनाल्डोको गोलमा पोर्चुगलको जीत, मोरक्को बाहिरियो

पोखरा न्यूज -०६, असार।

विश्वकप फुटबल अन्तर्गत समुह ‘बी’ को आज भएको खेलमा पोर्चुगलले मोरक्को माथि १-० को जीत हासिल गरेको छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले प्रतियोगिताको आफ्नो चौथो गोल गर्दा मोरक्को भने प्रतियोगितामा गोलको खाता नखोल्दै बाहिरिएको छ ।

खेलको चौथो मिनेटमै रोनाल्डोले गोल गर्दै दिलाएको अग्रता नै अनन्त निर्णायक बन्दा पोर्चुगलले आफ्नो दोस्रो खेलमा जीत निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । रोनाल्डोले मोउटिन्होको कर्नरमा हेडिङ्ग मार्फत गोल गरेका थिए ।

उत्कृष्ट खेल खेलेको मोरक्को भने खेल अवधी भर पोर्चुगल डिफेन्सलाई दबाबमा राखेपनी फिनिसिङको अभावमा गोल गर्न नसक्दा छिटै घर फर्किएको छ । खेलमा मोरक्कोको बेनासियोले खास गरी पाएका मौकाहरु गोलमा परिणत गर्न नसक्दा पराजित हुन पुग्यो । उनले खेलको ५९ औं र इन्जुरी समयमा डिबक्स भित्रबाट गरेका प्रहार आकाशिदा मोरक्कोले बराबरी गोल गर्न सकेन ।

त्यस्तै जिएचको फ्रीकिकमा युनिस बेल्हान्डाको हेडिङ पोर्चुगलका गोलरक्षक रुइ प्याटृसियाले शानदार बचाउ गर्दा मोरक्को बराबरी गर्नबाट चुकेको थियो । यता पहिलो गोल पछि रक्षात्मक रणनीतिमा उत्रेको पोर्चुगल पहिलो खेलमा जस्तो फुर्तिलो भने देखिएको थिएन ।

अब आज राती समुह बी कै खेलमा स्पेनले इरानको सामना गर्नेछ। पहिलो खेलमा जीत हासिल गरेको इरान यस खेल जित्दै अघिल्लो चरण प्रवेश गर्ने दाउमा हुनेछ भने युरोपियन पावरहाउस स्पेन प्रतियोगितामा आफ्नो पहिलो जीतको खोजीमा हुनेछ । खेल नेपाली समय अनुसार ११:४५ मा हुनेछ । त्यसअघि ८:४५ मा समूह क को खेलमा साउदी अरबले उरुग्वेसँग खेल्नेछ ।

तस्वीर : twitter/@fifaworldcup

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button