इरान माथि स्पेनको जीत, उरुग्वे पनि विजयी

पोखरा न्यूज -०७, असार।

विश्वकप फुटबल अन्तर्गत गए राती भएको खेलहरुमा उरुग्वे र स्पेन विजयी भएका छन् । जीतसँगै उरुग्वे दोस्रो चरणमा प्रवेश गरेको छ भने स्पेनले पनि अघिल्लो चरणमा प्रवेश गर्ने आफ्नो सम्भावना बलियो बनाएको छ ।

गएराति भएको समूह ‘क’ को खेलमा उरुग्वेले साउदी अरबलाई १-० ले हराएको थियो । उसका लागि स्टार स्ट्राइकर लुइस सुआरेजले खेलको २३ औं मिनेटमा गोल गरेका थिए । उक्त गोल नै निर्णायक बन्दा एसियाली प्रतियोगी साउदी अरब भने दोस्रो हारसँगै अन्तिम खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको छ । यस समुहबाट उरुग्वे र रसिया दोस्रो चरणमा प्रवेश गरेका छन् ।

हिजै भएको समूह ‘ख’ को खेलमा स्पेनले इरानलाई १-० कै गोल अन्तरले पराजित गरेको छ । खेलमा स्पेनका डिएगो कोस्टाले ५४ औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भएको थियो । खेलमा ७८% बल पोजेशन राखेको स्पेनले दोस्रो गोल भने गर्न सकेन । अब समुहको आफ्नो अन्तिम खेलमा स्पेनले प्रतियोगिताबाट बाहिरी सकेको मोरक्कोको सामना गर्नेछ । समुहकै अर्को खेलमा इरानले पोर्चुगलको सामना गर्नेछ । समुहमा स्पेन र पोर्चुगलले समान ४-४ अङ्क बनाउँदा इरानको ३ अङ्क छ भने मोरक्को अङ्कविहिन छ ।

विश्वकप अन्तर्गत आज फ्रान्स र पेरुबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा डेनमार्क र अस्ट्रेलिया भिड्नेछन् । तेस्रो खेल अर्जेन्टिना र क्रोएशियाको बीच हुनेछ ।

तस्वीर : Reuters

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button