कालीगण्डकी गर्ज चिनियाँ लगानीमा निर्माण हुने

पोखरा न्यूज -०८, असार।

म्याग्दीस्थित १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवावाटर कन्जरभेसन एण्ड हाइड्रो पावर प्रालिका प्रतिनिधिबीच लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

लगानी जुटेपछि एक दशकदेखि निर्माणको प्रक्रियामा रहेको सो आयोजनाले गति लिने अपेक्षा गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । म्याग्दी र मुस्ताङ भएर बग्ने कालीगण्डकीको पानीबाट विद्युत् उत्पादन गर्ने उद्देश्यले २०६३ सालमा उक्त आयोजनाको सर्वेक्षण गरिएको थियो ।

लामो समयदेखि प्रतिक्षामा रहेको सो आयोजनामा चिनियाँ लगानी भित्र्नु म्याग्दीको ऊर्जा क्षेत्रमा गौरवको विषय भएको अध्यक्ष कर्माचार्यको भनाइ छ । लगानीकर्ता र प्रवद्र्धकलाई सुरक्षाको प्रत्याभूती, सामाजिक वातावरण र प्रक्रियागत झञ्जटबाटमुक्त बनाउनुपर्ने अध्यक्ष कर्माचार्यले बताए ।

विसं २०६८ पुस १९ गते उत्पादन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा निवेदन दिएको उक्त आयोजनाले प्रक्रिया पूरा नगरेपछि अनुमतिपत्रनै रद्द भएको थियो । पुरानो अनुमतिपत्र रद्द भएपछि नेपाल कालीगण्डकी गर्ज नाममा पुरानै कम्पनीले आयोजनाको पुनः सर्वेक्षण गरेर निर्माण प्रक्रिया अघि बढाएको हो ।

सन् २०१४ सम्ममा आयोजना निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य थियो । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको सो आयोजना म्याग्दीमा हालसम्मकै ठूलो हो । पाँच किलोमिटर सुरुङ रहने आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हो ।

रु २५ अर्ब लागतको उक्त आयोजनाले नारच्याङमा रु तीन करोड मुआब्जा दिएर तीन सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा कालीगण्डकी गर्जसँगै ६०० मेगावाट क्षमताको मनाङ मस्याङ्दीलगायत ८७९ मेगावाट क्षमताका चारवटा जलविद्युत् आयोजनाका लागि चिनीयाँ लगानीकर्तासंँग सम्झौता भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button