पर्वतका मिर्गौला र रक्तक्यान्सर पीडितलाई डेढ लाख सहयोग

पोखरा न्यूज -०९, असार।

रोजगारीका लागि इजरायलमा रहेका प्रवासीहरूले यहाँका दुईजना गम्भीर रोगका बिरामीलाई आर्थिक सहयोग गरेका छन् ।

‘मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल’ले रक्तक्यान्सर रोगबाट पीडित पर्वतको कुश्मा नगरपालिका–१४ का १५ वर्षीय अर्जुन गौतम र मिर्गौलापीडित पर्वतको कुश्मा नगरपालिका–३ की अमृता शर्मालाई उपचारका लागि झण्डै रु डेढ लाख आर्थिक सहयोग उपलब्ध गराएको हो । गौतमलाई रु एक लाख २० हजार र मिर्गौलापीडित शर्मालाई रु २८ हजार सहयोग हन्तान्तरण गरिएको समाजका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।

रक्तक्यान्सर पीडित गौतम विगत पाँच महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छन् भने मिर्गौलापीडित शर्मा विगत एक महिनादेखि उपचारका लागि काठमाडौँमा रहेकी छिन् । दुई सन्तानकी आमा बनिसकेकी अमृता यतिबेला आफ्ना दुवै मिर्गौलाले काम गर्न छाडेपछि डाइलोसिस गरेर जीवन धान्न बाध्य भएकी छिन् । दुवै परिवार निकै विपन्न रहेकाले अभियान नै सञ्चालन गरेर रकम संकलन गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

शुक्रबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षा विकास समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले मानवीय जीवनमा रोगले कतिबेला आक्रमण गर्छ भन्ने कुराको ग्यारेन्टी नहुने बताउँदै विपत्को अवस्थामा सबैले हातेमालो गरेर सहयोग गर्नुपर्ने बताए ।

एउटै घरका तीन अपांगता भएका बालिकालाई सहयोग

एउटै परिवारका तीन सन्तान जन्मेदेखि ओछ्यानमा छन्, सामान्य परिवारका ती अपाङ्गता भएका सन्तानको उपचार र खानपानका लागिसमेत समस्या छ । सुतेरै जीवन बिताइरहेका ती सन्तानको पीडा र समस्या युट्युबमा देखेपछि अमेरिकामा बस्दै आएका प्रवासी बालबालिकाले तिहारमा देउसी खेलेर जम्मा गरेको रकम सहयोग गरेका छन् ।

अमेरिकाको भर्जिनियामा बस्ने साना बालबालिकाले तिहारमा देउसीमा जम्मा गरेको र विद्यालयको खाजा खर्च कटाएर पर्वतको बिहादी गाउँपालिका वडा नं ३ रानीपानीका बलबहादुर परियारका तीन अपाङ्गता भएका छोरीलाई आर्थिक सहयोग गरेका हुन् ।

भर्जिनियमा बस्दै आएका पर्वतको कुस्मा नगरपालिका–४ का माधव र सरिता उपाध्यायका छोराछोरी स्मृति र प्रतीक तथा उनका साथीहरूले गएको तिहारमा देउसी खेलेको र खाजा खर्च कटाएर जम्मा गरेको रु ३१ हजार आर्थिक सहयोग गरेका छन् । सहयोग रकम पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र स्मृति र प्रतीककी हजुरआमा लुमाकुमारी उपाध्यायले अपाङ्गता भएका बालिकाका बाबु बलबहादुर परियारलाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button