पृथ्वीचोकमा ३ सय जनाको निशुल्क रक्त परीक्षण

पोखरा न्यूज – ९, असार ।

पोखरा लेखनाथ महानगरपालिका ९ पृथ्वीचोकमा शनिबार ३ सय २ जनाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी निशुल्क रक्त परीक्षण गरिएको छ । हेप्पी प्रशोधित शुद्ध पिउने पानीले कृष्ण टोल विकास संस्था, कृष्ण टोल आमा समूह, पार्वती टोल विकास संस्था, पार्वती टोल आमा समूह, प्रगतिशील आमा समूह र शिव टोल विकास संस्थाको सहयोगमा शिविर आयोजना गरेको हो ।

पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको कार्यक्रममा वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास भट्टराईले रोग लाग्नुभन्दा पहिले नै सचेत बने शारीरिक सास्ती र खर्च बेहोर्न नपर्ने बताए । उनले समाजमा रहेका केही भ्रम डाक्टरको सुझाव भन्दा पनि शक्तिशाली रहेको औंल्याए । उनले भने, ‘बिरामीहरु बरु डाक्टरले भनेको मान्दैनन् । समाजमा रहेका केही नकारात्मक भ्रमको पछि लाग्छन् ।’

मधुमेह हुँदैमा खाना खानै छाड्नु नपर्ने जनाउँदै उनले चिकित्सकको सल्लाहमा धेरै खानेकुरा खान हुने बताए । धेरै रोगको मूल भएकाले मधुमेह लाग्नै दिन नहुने र लागिसकेको भए सन्तुलनमा राख्न उनले आग्रह गरे । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले ल्याब स्थापनादेखि नै सामाजिक दायित्व महसुस गरी शिविरहरु गर्दै आएको बताए । रोग लागेर अन्तिम अवस्थामा चिकित्सककहाँ पुग्ने क्रमलाई घटाएर पूर्व परीक्षण गरी रोग अनुसारका विशेषज्ञकहाँ उपचार गर्ने बानी बढ्दै गएको उनले उल्लेख गरे । उनले भने, ‘गुणस्तरीय सेवा र विशेष जाँचहरु पनि केही निशुल्क र केही छुटमा दिने गरेका छौं ।’

पोखरा ९ का वडा सदस्य नन्दराम गिरीले पिछडिएको क्षेत्रमा यस्ता शिविर आयोजना हुँदा नागरिकमा चेतना अभिवृद्धि सँगसँगै स्वास्थ्य सेवा उपलब्ध हुने बताए । स्वास्थ्य शिविरका कार्यक्रम संयोजक उत्तम जोशीले लापरवाही पूर्ण खानपिन र सचेत नहुँदा धेरै रोगको शिकार हुनुपरेकाले शिविर आयोजना गरिएको बताए ।

एल एन्ड बि बाटर एन्ड वेबरेज उद्योग पोखरा कास्कीका प्रबन्ध निर्देशक लेखुराम खतीको अध्यक्षतामा भएको कार्यक्रम कृष्णटोल आमा समूहका अध्यक्ष गोमा तामाङ र सञ्चालन शिव टोल विकास संस्थाका सचिव पूर्ण गुरुङले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button