म्याग्दीमा स्वास्थ्य शिविरबाट एघार सय लाभान्वित

पोखरा न्युज -१०, असार।
समाज कल्याण परिषद्अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ शिविरबाट एक हजार जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहीबार, अन्नपूर्णको पोखरेबगरमा शुक्रबार र बेनी अस्पतालमा शनिबार सञ्चालन भएको शिविरबाट एक हजार १०० जनाले सेवा लिएका आयोजकले जनाएका छन् ।

दरवाङमा ३९५, पोखरेबगरमा ४०० र बेनीमा ३०० जनाले सेवा लिएका कोषका अध्यक्ष हुमबहादुर बरुवालले जानकारी दिए । स्त्रीरोग विशेषज्ञ डाक्टर सरिता गुरुङ, बालरोग विशेषज्ञ डा नवराज सुवेदी र जनरल डाक्टर रुपेश श्रेष्ठसहित स्थानीय स्वास्थ्यकर्मीले सेवा दिएक थिए ।

स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण सेवा उपलब्ध गराइएको अध्यक्ष बरुवालले बताए । दुर्गम ग्रामीण क्षेत्रका सर्वसाधारणलाई स्थानीयस्तरमा सहज र सर्वसुलभरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।

तीनवटै शिविरको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उद्घाटन गरेका थिए । सो क्रममा मन्त्री थापाले दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन सरकारले ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्न लागेको जानकारी दिए ।

मन्त्री थापाले स्थानीय तहका जनप्रतिनिधि, अगुवा र नेकपाका नेता, कार्यकर्तासँग भेटघाट गरेर विकास निर्माण, स्थानीय तहका गतिविधि, समस्या र सहकार्य गर्न सकिने विषयमा छलफल गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button