बाग्लुङका किसानका समस्या बुझ्दै : मन्त्री थापा

कृषि पेशालाई सम्मानित पेशा बनाउछौँ

पोखरा न्युज -१०, असार । 
प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रत्यक्ष फिल्डमै पुगेर कृषकहरुका गुनासाहरु सुन्ने उदेश्यले सुरु गरेको कृषकसँग मन्त्री कार्यक्रम शनिवार बाग्लुङको काठेखोला गाँउपालिका वडा नं २ मा सम्पन्न भएको छ ।

गाउँपालिकाको डुढियाखोलामा रहेको बाग्लुङ पशु स्रोत विकास फर्ममा आयोजना गरिएको कार्यक्रममा सहभागि किसानहरुले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखवहादुर थापामगरलाई प्रत्यक्ष रुपमा आफ्ना समस्याहरु सुनाए ।

गत वर्षको चैत १४ गते आगलागीवाट लाखौँको क्षति पुगेको उक्त पशु स्रोत फर्म जिल्लाकै नमूना रहेको छ । दुईपटकसम्म लागेको आगलागिवाट ६० लाख भन्दा बढिको क्षति पुगेको थियो । फार्मबाट दैनिक ४ सय लिटर दूध उत्पादन हुँदै आएको छ ।

अन्तरक्रिया कार्यक्रममा कृषक हरिवहादुर रानाले कृषि पेशामै भविष्य देखेर आफुहरु केही गर्न तयार भएनपनि लगानीको अभावमा फार्म बिस्तार गर्न नसकिएको बताए । सरकारले कृषि कर्जालाई सहज बनाउने बताए पनि बैंकहरुले लगानी गर्न नमानेको गुनासो उनको छ। ‘मैले १० वटा गाई पालेको छु । यसलाई अझै बढाउने योजना बनाएको छ । तर पैसा छैन । कृषि बिकास बैंकमा ऋण माग्न जाँदा तपाईको धितो पुग्दैन भनेर फर्काउछन्।’रानाले भने,‘ व्यवसायिक फर्म धितो राखेर ऋण दिने व्यवस्था सरकारले गरे हुन्थ्यो।’
अर्का कृषक चन्द्रमणी उपाध्यायले आफ्नो क्षेत्रमा जडिवुटी खेतीको पर्याप्त सम्भावना भएको र त्यसको लागि राज्यले त्यसका लागि ज्ञान सिप उपल्व्ध गराउन माग गरे ।

स्थानीय डिल बहादुर पुनले १७/१८ वर्षदेखी अलैँचीको खेती गर्दै आएपनि राज्यको तर्फबाट केही पनि सहयोग नपाएको दुखेसो पोखे। ‘ म १८ वर्षदेखी अलैँचीको खेती गर्दै आएको छु। अहिलेसम्म मेरोमा कोही पनि आएका छैनन् । आफुले जस्तो जाने त्यस्तै गर्दै आएको छु। राज्यले पनि हामीलाई पनि केही त सिकाउनु पर्ने ? ’ उनले भने ।

पशु स्रोत केन्द्रमा लाखौँको क्षति पुगेपनि चूनौतीहरुलाई सामना गर्दै अझै राम्रो गर्न सकिन्छ भन्ने अठोठ लिएर अघि बढेकोमा फर्मका संचालक तथा सदस्यहरुलाई मन्त्री थापाले धन्यवाद व्यक्त गरे ।

गाउँको मुख्य आयस्रोतको रुपमा रहेको कृषि पेशालाई आगामी दिनमा सम्मानित र मर्यादित पेशा बनाउने प्रतिवद्धता उनले जनाए।‘ गाउँको मुख्य स्रोत कृषि हो । बजारको व्यापार हो । सरकार ऐन नियम बनाएर खेती गर्ने कृषकले पनि पेन्सन पाउनु पर्दछ भन्नेमा छ। हामी यो पेशालाई सम्मानित बनाउँद छौँ।’ मन्त्री थापाले भने ।

संविधानमा नागरिकलाई खाद्य हकको व्यवस्था गरिएको र कोही पनि भोकै वस्नु पर्ने छैन भन्ने राज्यको नीति रहेको र कृषकहरुले आफु भोकै वसेर रातदिन नभनि कृषि उत्पादन मार्फत राज्यलाई सहयोग गरेकोले कृषकलाई सम्मान गर्नु राज्यको दायित्व भएको उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश सांसदहरु ईन्द्रलाल सापकोटा, चन्द्रवहादुर वुढामगर, मन्त्रालयका भूमि तथा सहकारी महाशाखा प्रमुख विरेन्द्र स्वाँर, शाखा अधिकृत कमल पुन सहभागि थिए । मन्त्री थापाले बाग्लुङको राना गाई फार्म, , सहकारीवाट संचालित निलगिरी अस्पताल, श्रीकृष्ण गाई फार्म तथा कुखुरा फार्मको निरिक्षण गरि गुनासाहरु टिपोट गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button