नवलपुरमा लागू औषधसहित चारजना पक्राउ

पोखरा न्यूज -१३, असार।
पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

प्रतिबन्धित लागू औषध छोड्न आएका दुईजना र लागू औषध खरिद गर्न आएका दुईजना गरी चारजनालाई मध्यबिन्दु नगरपालिका–८ चोरमारा फूलबारी चोकबाट प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ का २७ वर्षीय अजित चौधरी, रामग्राम नगरपालिका–१० का २१ वर्षीय नितेशसिंह चौधरी, पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–६ निवासी २९ वर्षीय सुमित पौडेल र कावासोती–१३ निवासी ३२ वर्षीय बलराम महतो रहेका छन् ।

उनीहरुको साथबाट फेनार्गन २९६ एम्पुल, नुफिर्न २८० एम्पुल, डाइजेपाम ३०६ एम्पुल गरी ८८२ एम्पुल लागूऔषध बरामद गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले छ थान मोबाइल, रु ११ हजार ५०० नगद, उनीहरुले प्रयोग गरेको लु १५ प २५९६ नम्बरको मोटरसाइकल र ना ४१ प १७१० नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button