६ महिनामा ६९ जनामा एचआइभी संक्रमण

पोखरा न्यूज -२८, असार ।
जिल्लामा सन् २०१८ को छ महिनामा ६९ जनामा एचआइभी संक्रमण भेटिएको छ ।

भरतपुर अस्पताल, एआरटी सेन्टरमा रक्त परीक्षण गरेका सात हजार ९३० जनामध्ये ६१ जना भरतपुर अस्पतालमा र आठ जना समुदायमा शिविरका क्रममा भेटिएको सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले बुधबार आयोजित अन्तक्र्रियामा जानकारी दिए ।

एचआइभी र क्षयरोगको संक्रमण देखिएको आशंकामा ४३४ जनाको परीक्षण गरिएकामा १० जनामा दुवै रोग लागेको भेटिएको छ । यससँगै जिल्लामा एचआइभी संक्रमित खुलेर आउनेको संख्या एक हजार ६१६ जना पुगेको छ । उनीहरुमध्ये ८४२ पुरुष, ६४८ महिला र १२६ बालबालिका छन् । अहिले सेन्टरमा एचआइभी एड्स रोकथामका लागि ८१५ जनाले एआरभी औषधि प्रयोग गर्दै आइरहेको सेन्टरले जनाएको छ ।

सेन्टरले सन् २०१७ जुनसम्ममा सात हजार ६३९ जनाको एचआइभी परीक्षण गरेकामा ४७ जनामा एचआइभी संक्रमण भेटिएको थियो । अघिल्लो वर्ष संक्रमण देखिएका सहित सन् २०१८ मा मात्रै ९४ जना नयाँ संक्रमितले औषधि शुरु गरिसकेका छन् । एचआइभी संक्रमण रोक्नका लागि जिल्लाका विभिन्न स्थानमा ५५ हजार ४१७ थान कण्डम वितरण गरिएको छ ।

प्रदेश नं ३ र ७ एचआइभी संक्रमणका दृष्टिले जोखिम प्रदेश रहेको जनाइएको छ । नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण रहेको अनुमान छ । तीमध्ये १९ हजार ७०२ जनामा सो संक्रमण पत्ता लागिसकेको छ । उनीहरुमध्ये १५ हजार २६० जनाले नियमित औषधि सेवन गरिरहेका छन् ।

जिल्लामा ६ महिनामा एचआइभी संक्रमित पाँच जनाको मृत्यु भएको छ । सन् २०१७ मा ११ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार जना एआरभी औषधि सेवन गरेका छन् । नियमित औषधि सेवन नगर्ने र औषधिसँगै मादक पदार्थ सेवन गर्नेको बढी मात्रामा मृत्यु हुने गरेको बताइएको छ ।

पछिल्लो समयमा एचआइभी संक्रमितमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले क्षयरोगको संक्रमण बढ्दै गएको पाइएको भरतपुर अस्पतालका फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए । अन्य रोगको तुलनामा संक्रमित ५० प्रतिशतमा क्षयरोगको संक्रमण हुने खतरा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button