म्याग्दी जिल्लामा दुई हजार घरधुरी जोखिममा

पोखरा न्यूज -२९, असार ।

कमजोर र भिरालो भूबनोट, छोटो समयमा हुने अधिक वर्षा र डोजरको प्रयोग गरी खनिएका मोटरबाटाका कारणले म्याग्दी जिल्लामा दुई हजार १५० घरधुरी बाढीपहिराको जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ ।

जिल्लामा प्रतिवर्ष ३७ लाख ४५ हजार ६९० घनमिटर मलिलो माटो बग्ने गरेका कारण शहर तथा ग्रामीण क्षेत्रमा ठूलो परिमाणमा भूक्षय र पहिरो जाने गरेको भूसंरक्षण कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा १८ भन्दा बढी ठूलो पहिरो र सयौँ मध्यम तथा साना पहिराले करीब ९०० र बाढीले एक हजार २५० घरधुरी जोखिममा परेको जिल्ला भूसंरक्षण कार्यालयले जनाएको छ । पहिराले एक हजार ३४.१ हेक्टर क्षेत्रफल ओगटेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका उपसचिव दिवाकर पौडेलका अनुसार जिल्लाका साविकका ४१ मध्ये ३७ गाविस बाढीपहिराको जोखिममा छन् ।

उनका अनुसार बेनी नगरपालिका तथा मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साना तथा ठूला बस्ती बढीपहिराको संवेदनशील क्षेत्रमा समावेश गरिएको छ । त्यस्तै कालीगण्डकी र म्याग्दी नदीको कटानले तटीय क्षेत्रका बस्ती जोखिममा छन् । जिल्लामा रहेका ठाडो तथा सहायक खोला राहुघाट खोला, घट्ठेखोला,फूलबारी रितुमखोल,घट्ठे खोलाको कटानले समेत जोखिम बढाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button