बैदेशिक रोजगारका नाममा स्याङजाका दुई व्यक्तिद्वारा करोडौको ठगि

पोखरा न्युज- ३० , असार । स्याङजाका दुई व्यक्तिद्वारा विदेशमा जागिर दिलाउने नाममा सर्वसाधारणबाट करोडौ रकम ठगि गरेको पाइएको छ । स्याङजा चापाकोट नगरपालिका ६ घर भइ हाल पोर्चुगल बस्ने बताउदै आएका सरोज चापागाई र स्याङजा स्वरेक – ८ घर भइ हाल काठमाण्डौ बस्दै आएका कृष्ण बहादुर सिकेले विदेशमा आकर्षक जागिर दिलाइदिने नाममा सर्वसाधारणबाट करोडौ रकम असुलेका हुन् । चापागाईले फ्रान्स र पोर्चुगलको भिषा दिने भन्दै ४० जनाबाट करिब डेढ करोड ठगि गरेका छन् भने सिकेले क्यानडा, अमेरिका , रसिया तथा अस्टे«लिया पठाउने भन्दै ५० जना भन्दा बढी युवाहरुबाट करिब दुई करोड ठगि गरेको आरोप लागेको छ ।

चापागाईले आफनै सहपाठी साथीहरुलाई आफु फ्रान्स तथा पोर्चुगल फरक फरक देशमा रहेको बताउदै फ्रान्स र पोर्चुगलको भिसा लगाइदिने भन्दै भाइबरबाट कुराकानी गरी अर्काको खातामा पैसा हाल्न लगाई ठगि गर्ने गरेको पाइएको छ । उता सिकेले भने कोरल एजुकेशन कन्सल्टेन्सी, रोएल एजुकेशन कन्सल्टेन्सी, रोएल एचआर सोलुसन संचालन गरि आकर्षक तलब सुविधा देखाएर सस्थाको नामबाट राष्ट्रिय पत्रपत्रिकामा सुचना निकाल्दै सर्वसाधारणलाई ठगि गर्ने गरेको तथ्य भेटिएको छ ।

फ्रान्स पठाउने सपना देखाएर दुबैको जागिर समेत चट पारिदिए

आफूसंगै पढेका साथीहरुलाई बिश्वासमा लिएर चापागाईले २२ जनाको दुबईमा खाइपाई आएको जागिर समेत चट बनाइदिएका छन् । गत १८ जनवरीको फ्लाइट छ भनेर चापागाईले दुबईमा काम गर्दै आएका आफु लगाएतका २२ जना साथीहरुलाई भिसा क्यान्सिल गर्न लगाएको पिडित मध्येका एक माधब डोटेलले बताए । ‘आफ्नै गाउँले सहपाठीले तिन महिनामा काम हुन्छ नभए पुरै पैसा फिर्ता हुन्छ भनेर बिश्वाश दिलाएपछि म लगाएतका २२ जना साथीहरुले आइएमई तथा बैंक मार्फत पैसा डिपोजिट गरि दुबईको भिसा समेत क्यान्सिल गरेर आयौ, सवैलाई उसले अलपत्र पार्यो’, – डोटेलले पोखरा न्यूज सँग भने । फ्रान्सको भिसा पाएपछि पीआर पाइन्छ, परिवार समेत लान पाइन्छ भनेर साथीले सपना देखाएपछी आफु मासिक १ लाख ५० हजार तलबको जागिर छाडेर स्वदेश आएको डोटेलको भनाइ छ । चापागाईले आफ्नो २ लाख ३० हजार रुपैया ठगेको डोटेलले बताए ।

युरोप पठाउने भन्दै कोरियाको मासिक ३ लाखको जागिर समेत खोसे

चापागाईले आफ्नै बिद्यार्थी जिवनका साथी चापाकोट- ७ का इश्वरी पाठक र नारायण रिमाललाई पनि पोर्चुगल पठाउछु भनि ठगेका छन् । उनीहरु दुबैलाई चापागाईले पोर्चुगल पठाउछु भनेर ३ वर्ष अगाडी स्वेदेश फिर्ता बोलाएका थिए ।
‘पोर्चुगल जाने सपनाले कोरीयामा मासिक ३ लाखको जागिर छाडेर आए, ३ वर्ष हुन् लागिसक्यो हुन्छ हुन्छ मात्र भन्थ्यो पैसा फिर्ता माग्दा कहिले कहाँ छु कहिले कहाँ छु भन्थ्यो ठगेर खान पल्केको रहेछ’,- पाठकले गुनासो गरे । चापागाईले आफूसँग १९ लाख लिएको र मुस्किलले अहिले सम्म ६ लाख फिर्ता पाएको बताए । ‘अझै १२ लाख फिर्ता लिन छ, ३ बर्ष सम्म कोरियामा हुने कमाई समेत घाटा लाग्यो’,- उनले दुखेसो पोखे । साउदी अरबबाट स्वेदेश फर्किएर पोर्चुगल जाने सपना बुनेका रिमालको पनि चापागाईले १२ लाख ठगेको रिमालले गुनासो व्यक्त गरे । आफुहरुले ब्याजमा पैसा खोजेर चापागाईलाई बुझाएको भन्दै सावा ब्याज सहित पैसा फिर्ता गराउनु पर्ने रिमालले माग गरे ।

करिब डेढ करोडको बैंक जम्मा भौचर र आइएमई भौचर सहित कास्की प्रहरीमा उजुरी

डोटेलले विभिन्न ३८ जना साथीहरुले चापागाईले उल्लेख गरेको बैंक गरिमा बिकास बैंक तथा ग्लोबल आइएमईमा जम्मा गरेको १ करोड ७ लाख ८० हजारको नगद जम्मा भौचर सहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको उल्लेख गरे । महेन्द्र गौतमको नाममा ८४ लाख ५० हजार, १७ लाख बसुधा श्रेष्ठको नाममा (चापागाईकी धर्मपत्नी), ४ लाख योगेन्द्र नायकको नाममा, १ लाख ८० हजार सरोज चापागाईको नाममा र अनिता गौतमको नाममा ५० हजार गरि जम्मा भएका सबै भौचर प्रहरीमा बुझाएको डोटेलले पोखरा न्यूजलाई बताए । त्यसबाहेक हाते नगद ७ लाख ९० हजार रुपैया चापागाईले लगेको उनले जनाए ।

रकम जम्मा गरेको खातावालाको विवरण र ठगिनेको विवरण (डोटेलले तयार परेर बुझाएको)

त्यसैगरी इश्वरी पाठक र नारायण रिमालले छुट्टै ३० लाखको भौचर प्रहरीमा पेश गरेको बताए । उनीहरुले अनाज एग्रिकल्चर कोअपरेटिभ , सिर्द्धार्थ बैंक, हिमालयन बैंक, एसबीआई बैंक लगाएतको नगद जम्मा भौचर पेश गरेको बताए ।
चापागाईले आफुहरुसँग फेसवुक, भाइवर जस्ता सामाजिक संजालमा कुराकानी गरी फ्रान्स तथा पोर्चुगल पठाउने ठुलो सपना देखाउदै रकम असुलेको पिडितहरुको आरोप लगाएका छन् । चापागाईले ३८ जनालाई फ्रान्स पठाउने नाममा र २ जनालाई पोर्चुगल पठाउने नाममा ठगेका हुन् । चापागाईले पैसा उठाउनको लागि आफ्नै धर्मपत्नी सहित विभिन्न व्यक्तिको खाता नम्बर दिएका छन् भने डिल गर्नको लागि सुरेश सिवाकोटीको नाममा इन्डिया छु भन्न लगाएर  नेपालको  ९८४६४३०१७०६  नम्बरको भाइबरबाट फोन तथा म्यासेज गर्न लगाएको भेटिएको छ  ।

सुरेश सिवाकोटीको नाममा सरोज चापागाईको तर्फवाट भाइबरमा डिल गर्दै एक व्यक्ति
ठगिको आरोप लागेका चापागाईलाई खातामा पैसा हाल्न लगाएर पक्राउ गरियो ।

जिल्ला प्रहरी कार्यलाय कास्कीमा चापागाईको नाममा उजुरी परेपछि कास्की प्रहरीले पिडित डोटेलको घरबाट चापागाईको बैंक खातामा रकम जम्मा गर्न लगाएर पक्राउ गरेको छ । दुइ हप्ता अगाडी डोटेलको घरबाट पैसा जम्मा गर्न लगाएर पैसा झिक्न आउदा सादा पोशाकमा घटिएको प्रहरीले चापागाईलाई पक्राउ गरेको हो ।

‘भिसा लगाउन केहि रकम आवश्यक पर्यो भन्दै आफुसँग पैसा मागेको लामो समय बित्दा समेत केहि नगरेपछि शंका लागेर खोजि गर्दा ठगि गर्ने मनासयेले पैसा असुलेको खुलेपछि उ बिरुद्ध कास्की प्रहरीमा उजुरी दिएका हौ ।‘ कास्की प्रहरीले उसलाई पक्राउ गरेको तर अहिलेसाम्म के भएको छ भन्ने कुराको जानकारी आफुहरुलाई नदिएको डोटेलले गुनासो गरे ।

यस बिषयमा बुझ्दा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्रमान गुरूङले चापागाईलाई नियन्त्रणमा लिएर सार्वजनिक मुद्धा चलाइएको जनाए । हामीले उहाँहरुलाई थप उजुरी सहित प्रक्रिया पुर्याएर आउन आग्रह गरेका छौ, आरोपितलाई कानुन अनुसार हदैसम्मको कारबाही हुन्छ’, – डिएसपी गुरूङले भने ।

उता सिकेले क्यानडा, अमेरिका , रसिया तथा अस्ट्रेलिया पठाउने भन्दै ५० जना भन्दा बढी युवाहरुबाट २ करोड भन्दा बढी ठगि गरेको आफ्नो २ लाख ५० हजार ठगिएका बिनोद शर्माले पोखरा न्यूजलाई बताए । सिकेबाट ५० हजार देखी १३ लाख सम्म ठगिएका व्यक्तिहरु सम्पर्कमा आउनुभएको छ , अझै थेरै व्यक्ति ठगिएको हुनसक्ने आशंका गरिएको छ’ – शर्माले भने । बिदुर घतानेको ६ लख ७० हजार, ओम बहादुर पुनको ४ लाख, उर्मिला पुनको ३ लाख ७० हजार, आर्यान जोशीको २ लाख, सागर पुरीको १ लाख ठगिएको शर्माले जनाए । ५० हजार देखि माथि ठगिनेको संख्या धेरै रहेको शर्माले बताए । ठगिएका मध्ये केहीलाई सिकेले बैंकको चेक दिएपनि बैंक खातामा रकम नभएकाले चेक नसाटिएको उनले गुनासो गरे । उसले बेलाबेलामा आफुहरुसंग बेलाबेलामा फेसबुक र भाइबर मा कुरा सधै पैसा फिर्ता दिन्छु भन्ने गरेको तर एक हप्ता पछी,एक महिना पछी गर्दै १ वर्ष पछि दिन्छु भनेर टार्ने गरेको उनले जनाए ।

सिकेले दिएका चेक

आफुहरुले सिकेको बिरुद्धमा महानगरीय प्रहरी वृत टेकुमा उजुरी दीएको बिनोद शर्माले जनाए । घटना घटेको १ महिना बितिसकेको र प्रहरीले आरोपीत व्यक्ति भागेर भारत तिर गएर बसेको भन्दै आफुहरुलाई फर्काउने गरेको गुनासो गरे । बैदेशिक रोजगार विभागमा जादा आफुहरुलाई वास्तानै नगर्ने गरेको शर्माले बताए । टेकु प्रहरीले सिके नेपाल बाहिर लुकेर बसेको आशंकामा खोजि कार्य जारी राखिएको बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button