अन्नपूर्ण पदयात्रा छोटिँदै

पोखरा न्यूज -३०, असार ।

जथाभावी कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिदै गएको छ । यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटर बाटोका कारण छोटिएको छ ।

यसबाट ट्रेकिङ व्यवसाय नै संकटमा परेको व्यावसायीको गुनासो छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन क्रमिक रूपमा वृद्धि हुँदै गए पनि पदायात्रा भने छोटिँदै गएको ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष दीपक अधिकारीले बताए ।

‘योसँगै अन्नपूर्ण क्षेत्रको मजदूरीमा आश्रित मजदूरको रोजीरोटी नै धरापमा परेको छ,’ उनले भने। महाभूकम्पपछि क्रमिकरूपमा पर्यटक आगमन वृद्धि हुँदै गए पनि जथाभावी कच्ची सडक निर्माणले पद्यात्रा छोटिँदै गएको उनले बताए । ‘महिना दिनको यात्रा हुँदा पर्यटन व्यवसायी, सरकार, स्थानीय र आवद्ध सबैलाई फाइदा हुन्थ्यो ।

‘मोटरबाटो आवश्यक भए पनि जथाभावी खनिएका कच्ची सडकले पर्यटन उद्योग खुम्चिन पुगेका छन्’ अध्यक्ष अधिकारीले भने, “नेपालकै चर्चित पद्यात्रका रूपमा रहेको यस क्षेत्रको पदयात्रा सुरक्षित र व्यवस्थित बनाउन पर्यटन बोर्ड पोखराको अनुमति लिनुपर्ने व्यवस्था छ ।” बोर्डबाट अनुमति लिएका पर्यटक अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)लाई तोकिएको शुल्क तिरेपछि मात्र पदयात्रामा जान पाउँछन् ।

अनावश्यक सडक निर्माणले पर्यटकको पदयात्रा र बसाइँ अवधि छोटिएकाले उनीहरूले गर्ने खर्चसमेत घटेको व्यवसायीको भनाइ छ । पदयात्रा अवधिसँगै यस क्षेत्रका स्थानीयवासीको पर्यटन व्यवसायबाट हुने आम्दानी पनि घटेको छ ।

जिल्लाकै प्रमुख पर्यटकीयस्थल घोडेपानी, तातोपानी हुँदै मुस्ताङ जाने पर्यटकले प्रयोग गर्ने बेनी–जोमसोम सडक अन्तर्गत पोखरेबगर–घार– शिखगाउँ हुँदै प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीमा पुग्ने पदमार्गमा सडक विस्तार भएपछि त्यस क्षेत्रका होटल बन्द हुने अवस्थामा पुगेका छन् ।

अव्यवस्थित पदमार्ग, स्थान परिचय झल्काउने बोर्ड, पदमार्ग चिन्ह लगायतका पूर्वाधार नहुँदा पर्यटकले रुट परिवर्तन गरेको घारकी पर्यटन व्यवसायी राममाया पुनले बताए । सडक विस्तारपछि पदमार्गमा व्यवसाय गरिरहेका अधिकांशको होटल बन्द गरेर कृषि तथा अन्य व्यवसायमा लागेका छन् ।

यो क्षेत्र हुँदै आवतजावत गर्ने विदेशी पर्यटक कास्कीको नयाँ पुल, घान्द्रुक हुँदे जाने गरेका छन् । पदमार्गमा रमाउन आउने पर्यटकलाई मोटरबाटोका कारण समस्या हुने गरेको पटक/पटक गुनासो गर्ने गरेको भए पनि सम्बन्धित निकायले पदमार्ग व्यवस्थित गर्न तर्फ चासो नदेखाइएको स्थानीय बासिन्दाको भनाइ छ ।

मोटरबाटो पदमार्ग क्षेत्रबाटै सञ्चालन भएकाले लाखौं नोक्सानी भएको भन्दै स्थानीयवासीले वैकल्पिक मोटरबाटो सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

विश्वमै उत्कृष्ट अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने भए पनि पर्यटनका क्षेत्रमा काम गर्ने संघ संस्था, जिसस साथै सरकारले समेत चासो नदेखाउने गरेकाका कारण पदमार्गबाट व्यवसायी नै विस्थापित हुनुपरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button