म्याग्दीका मासु पसल कानून र करको दायरामा

पोखरा न्यूज -३१, असार।

म्याग्दी जलजला गाउँपालिकाको बजार क्षेत्रमा दर्ताबिना अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका मासु पसल कानून र करको दायरामा आएका छन् ।

गाउँपालिकाअन्तर्गतको पशु सेवा शाखा र जनप्रतिनिधिहरुको टोलीले अनुगमन र नियमनमा कडाइ गरेपछि मापदण्ड पूरा गरेर मासु पसल दर्ता हुन थालेका हुन् । प्रशासनिक र नियमनकारी निकायको पहुँचको कमीका कारण अव्यवस्थित रुपमा सञ्चालित मासु पसलका कारण कर छलीका साथै अस्वस्थकर मासु किनबेच हुने गरेको थियो ।

गाउँपालिकाको बजार क्षेत्रमा पर्ने बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती, नाग्लीवाङमा नियमित रुपमा अनुगमन गरेर मापदण्डअनुसारको मासु पसल दर्ता गराएको शाखाका पशु चिकित्सक विमल शर्माले बताए ।

उनका अनुसार एक वर्षयता १५ वटा मासु पसल दर्ता भएका छन् भने थप पाँच वटा दर्ता प्रक्रियामा छन् । ग्रामीण क्षेत्रका अन्य मासु पसललाई पनि अनुगमन गरी कानून र करको दायरामा ल्याउने शर्माले बताए ।

अनुगमन टोलीले सरसफाइ, पूर्वाधार, चिस्यानको मापदण्ड पूरा गरेर व्यवसाय दर्ता गर्न निर्देशन दिएपछि मासु पसलको अवस्थामा सुधार आएको गाउँपालिकाका उपाध्यक्ष सीमा गर्बुजा पुनले बताए।

पशु सेवा शाखाको सिफारिसमा गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समितिमा व्यवसाय दर्ता गर्नुपर्ने प्रक्रिया छ । गाउँपालिकाले व्यवसाय दर्तावापत रु दुई हजार शुल्क निर्धारण गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button