पर्वतको पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

पोखरा न्यूज -०२, साउन ।

गएरातिदेखि परेको अबिरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय विकास परियार रहेका छन् । घरभित्र सुतेका उनको पहिरोले पुरिएर मृत्यु भएको हो । राति अन्दाजी १ बजे स्थानीयवासी बमबहादुर परियारको एक तले कच्ची घर माथिबाट आएको पहिरोले बगाएको थियो ।

अबिरल वर्षाकै कारण उक्त गाउँका १५ घरमा पनि क्षति पुगेको छ । अहिले उनीहरुलाई बस्ती नजिकै रहेको फर्से धाइरिङ माविमा सुरक्षित साथ राखिएको छ । पीडित परिवारलाई तत्काल खान र बस्नका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले राहत वितरण गरेको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मृतक परियारको परिवारलाई तत्काल राहतस्वरुप रु एक लाख हस्तान्तरण गरे ।

वर्षाकै कारण जलजला गाउँपालिका–७ धाइरिङ बास्कोट बस्ने भीमलाल आचार्यको घर पहिरोले पुरिँदा तीन जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा घरमुलि भीमलाल आचार्य, तुलसीदेवी आचार्य र नारायणी आचार्य रहेका छन् । उनीहरुको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङमा लगिएको छ । उनीहरुको टाउको, ढाड र हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

त्यस्तै सोही स्थानमा रहेको लस्ती खोलाको किनारमा रहेका पाँच घरका वासिन्दा खोलाको कटानका कारण विस्थापित बनेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button