टानद्वारा पर्यटन उद्धार छानविन समितिको स्वागत

पोखरा न्यूज -०४, साउन ।

उद्धार क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले ‘पर्यटन उद्धार छानविन समिति’ गठन गरेकोमा ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले त्यसको स्वागत गरेको छ ।

उद्धार कार्यलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले आरम्भ गरेको प्रयासको सराहना गर्दै छानविनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

टानका अध्यक्ष नवराज दाहालले आज एक विज्ञप्ति जारी गर्दै गुणस्तरीय तथा जिम्मेवार पर्यटनबाट मात्रै राष्ट्रिय पर्यटनको विकास हुने तथा समृद्ध नेपाल र सुखी नेपालीको मुख्य आधारमध्ये एक पर्यटन नै हुनेछ भन्ने सरकारको नीतिमा आम पर्यटन समुदायको समेत साथ र सहयोग रहने बताएका हुन् ।

पर्यटक उद्धार समितिले सत्यतथ्य छानबिन गर्नुअगावै कतिपय सञ्चारमाध्यममा केही स्थापित ट्रेकिङ कम्पनी र टानजस्तो गरिमामय संघका पदाधिकारीको समेत नाम जोडेर प्रकाशित समाचारप्रति टानको ध्यानाकर्षण भएको जनाउँदै सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषणका लागि अनुरोध गरेको छ ।

विषयको गहिराइमा गई सत्यतथ्य उजागर गर्न र सतहीरुपमा भेटिएका उजुरीका आधारमा कसैको आग्रह पूर्वाग्रहका आधारमा पत्राचार नगर्न समितिलाई आग्रह गर्दै पर्यटक उद्धार कार्यको निष्पक्ष अनुसन्धान गर्न पनि टानले माग गरेको छ ।

सरकारले उद्धार क्षेत्रमा देखिएका समस्या समाधान गर्न एक महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा पर्यटन उद्धार छानविन समिति गठन गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button