आइतबारबाट डा केसी समर्थकले सामूहिक सत्याग्रह गर्ने

पोखरा न्यूज -०५, साउन ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थकले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् ।

आज डा केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो ।

दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।

प्रर्दशनीमा राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा केसीको जीवनरक्षा गर्न माग गरेका हुन् ।

कार्यक्रममा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीले डा केसीले उठाएका विषय सम्पूर्ण नेपालीका भएकाले छिटोभन्दा छिटो उनको माग पूरा गर्नुपर्ने बताए ।

अधिकारकर्मी कृष्ण पहाडीले सरकारले जतिसक्दो छिटो माग सम्बोधन गरी समस्या समाधान गर्नुपर्ने बताए ।

डा केसीको समर्थनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, लेखक खगेन्द्र संग्रौला, बलिउड अभिनेत्री मनिषा कोइरालालगायत पनि उपस्थित थिए ।

चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसीले जुम्लाबाट आमरण अनशन शुरु गरेका थिए ।

स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै सरकारले गत बिहीबार हेलिकप्टरबाट डा केसीलाई काठमाडौँ ल्याएको थियो । हाल उनी शिक्षण अस्पतालमा २२ औँ दिनको अनशनमा हुनुहुन्छ । यो उनको १५ औँ पटकको अनशन हो ।

जुम्लाबाट काठमाडौँ आएपछि डा केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइन मात्र लिने घोषणा गरेका छन् ।

यता डा केसीको स्वास्थ्य अवस्था भने गम्भीर बन्दै गएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button