देशभर सवारी दुर्घटनामा कमी, उपत्यकामा वृद्धि

पोखरा न्यूज -०७, साउन । 

आर्थिक वर्ष २०७४/७५ मा देशभर सवारी दुर्घटनाबाट दुई हजार ३१८ जनाको मृत्यु भएको छ ।

आव २०७४/७५ मा नौ हजार ९८९ सवारी दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष एक हजार ७१३, महिला ३६१, बालक १६० र बालिका ८४ छन् । यस्तै दुर्घटनामा तीन हजार ८०० जना गम्भीर घाइते र सात हजार ५१० सामान्य घाइते भएका छन् ।

ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनी आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा सवारी दुर्घटनामा कमी आएको बताउछन् । उनका अनुसार आव २०७३/७४ मा दुई हजार ३८४ जनाको मृत्यु भएको थियो । आव २०७३/७४ मा १० हजार १७८ दुर्घटना भएको थियो ।

चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गह्रुँगो सामानका कारण बढी दुर्घटना हुने मरासिनीको भनाइ छ । काठमाडौँ उपत्यकामा १९४, पूर्व क्षेत्र ५१०, मध्यक्षेत्र ६६६, पश्चिम क्षेत्र ५६७, मध्यपश्चिम क्षेत्र २५१ र सुदूरपश्चिम क्षेत्रमा १५६ जनाको मृत्यु भएको छ । आव २०७२/७३ मा १० हजार १३ दुर्घटनामा दुई हजार छ तथा आव २०७१/७२ मा नौ हजार १४५ दुर्घटनामा दुई हजार चार जनाको मृत्यु भएको थियो । निर्देशनालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार ट्रयाक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ ।

उपत्यकामा दुर्घटना वृद्धि

ट्राफिक निर्देशनालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा सवारी दुर्घटना बढेको छ । आव २०७३/७४ मा १८२ मृत्यु भएकामा आव २०७४/७५ मा १९४ जनाको मृत्यु भएको छ । यस्तै आव २०७२/७३ मा १६६, आव २०७१/७२ मा १३३ र आव २०७०/०७१ मा १४३ जनाको मृत्यु भएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउछन् । “चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो”, उनी भनछन् ।

दुर्घटनाको कारण

लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गरेका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारण अन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउछन् । पच्चीस प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने उनको भनाइ छ । यस्तै ७० प्रतिशत दुर्घटना घरको ४० किलोमिटर वरपर हुने गरेको छ ।

श्रेष्ठ तीव्र गतिलाई कम गर्न सके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउने बताउछन् । “मादक पदार्थ सेवन गर्नेलाई (मापसे) रोक्न सके चार देखि २४ प्रतिशत कम हुनसक्छ”, उनी भनछन् ।

काठमाडौँ उपत्यकामा हाल साना ठूला ११ लाख तथा देशभर झण्डै ३१ लाख सवारी साधन छन् । आर्थिक वर्ष २०७२/७३ मा नेपालको कालोपत्रे सडकको लम्बाइ १२ हजार ८९८ किलोमिटर छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button