राजनीतिक नेतृत्व पनि आर्थिक नियमभित्र बस्नुपर्छ : प्रम

पोखरा न्यूज -१५, साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व पनि आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताएका छन् ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०७४/७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई आज प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वले समेत सो विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

सरकारी कार्यालयमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीको भनाइ थियो । “के कारणले बेरुजु भएको हो ?”, प्रधानमन्त्री ओलीले भने, “जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो त्यसमा संलग्नलाई कानूनी कारवाही गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकाय र व्यक्तिले उन्मुक्ति नपाउने बताए । बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगत्मा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाति होइन,” प्रधानमन्त्रीले भने , “तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही विराम लगाउनुपर्छ ।”

बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले आव २०७४/७५ मा रु ४८ अर्ब बेरुजु देखिएको जानकारी दिए । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र विभिन्न मन्त्रालयका सचिवको उपस्थिति थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button