नेपाल आज आफ्नो पहिलो एकदिवसीय खेल नेदरल्यान्डसँग खेल्दै

पोखरा न्यूज -१६, साउन ।

सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एफिलिएट सदस्य बनेर क्रिकेटको यात्रा शुरु गरेको नेपाली क्रिकेटले त्यसको ३० वर्ष पछि आज आफ्नो पहिलो एेतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै छ । नेदरल्यान्डको आम्सटर्डममा घरेलुु टोलीसँगै खेल्दै नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा आफ्नो पदार्पण गर्ने भएको छ ।

विश्व क्रिकेटमा राइनोज् उपनाम पाएको नेपाली टिम सन् १९९६ मा आइसिसिको एसोसिएट सदस्य बनेको थिए । त्यसपछिका अनेक आरोह-अवरोह बीच नेपाली क्रिकेटले आज नयाँ उचाई पाउनेछ जब आम्सटर्डममा नेपाली समय अनुसार २:४५ बजे टिम आफ्नो पहिलो एकदिवसीय खेल खेल्न उत्रनेछ । डिभिजन ५ मा रहँदै आफ्नो यात्रा शुरुआत गरेको नेपाल डिभिजन ५, ४, र ३ मा विजेता बन्दै डिभिजन २ मा उक्लेको थियो । डिभिजन २ मा उपविजेता बन्दै २०१८ मा भएको विश्वकप क्वालिफायरमा खेल्ने मौका पाएको नेपालले सोहि क्वालिफायरमा नवौं स्थानको प्ले अफमा पपुआ न्युगिनीलाई हराउँदै सन् २०१८ को मार्च १५ मा एकदिवसीय मान्यता प्राप्त गरेको थियो ।

यसै सन्दर्भमा नेपालको यात्रामा सधैं प्रेरणादायी कप्तानको भुमिका निभाएका कप्तान पारस खड्काले लेखेका थिए , “हामी यहाँ सम्म पुग्न सधैं आतुर थियौ तर अबको चुनौती यो भन्दा अघि बढ्नु हुनेछ । ८ वर्ष अघि हामी डिभिजन ५ खेल्दै थियौ र आज हामी विश्वका टप १६ टिममा परेका छौँ र अर्को चार वर्षको लागि एकदिवसीय मान्यता पनि पाएका छौँ ।”

नेपालले आफ्नो पहिलो खेल खेलीरहँदा आफ्नो प्रतिद्वन्द्वी भने ७९ खेल पुरानो पाउनेछ । तर प्रदर्शन ओरालो लागेपछि आफ्नो एकदिवसीय मान्यतासमेत गुमाएको नेदरल्यान्डले चार वर्षपछि  आफ्नो पहिलो एकदिवसीय खेल खेल्दैछ । सन् १९९६ को विश्वकप देखि नै एकदिवसीय खेलेको नेदरल्याण्डले हालसालै इङ्ग्ल्यान्डलाई लर्डसको मैदानमा पराजित गरेको थियो । यसले पनि आफ्नो गुमेको साख फर्काउन प्रयत्नशील नेदरल्यान्ड नेपालको लागि निकै बलियो प्रतिद्वन्द्वी मानिनेछ । यस अघि विश्वकप क्वालिफाएरकै सातौ स्थानको प्ले अफमा नेदरल्यान्डले नेपाललाई ४५ रनले पराजित गरेको थियो ।

यति भनिरहँदा पनि नेपाली टिम भने जीतका लागि नै उत्रने कप्तान पारसले बताएका छन् । विश्व क्रिकेटमा निरन्तर प्रगति गरिरहेको नेपालका लागि प्रेरणादायी कप्तान खड्काका अलावा युवा स्पिनर सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, शरद भेष्वाकर, सोमपाल कामी, वसन्त रेग्मीजस्ता अनुभवी हातको साथ हुनेछ । नेदरल्यान्ड भने पिटर सिलरको कप्तानीमा वेस्ले वारेसी, स्टेफेन माइवर्ग, माइकल रिप्पोनजस्ता आक्रामक खेलाडीको साथमा उत्रनेछ । आफ्नो पहिलो खेल अविस्मरणीय बनाउने दाउमा रहेको नेपाल र पुनरागमन गर्दै गरेको नेदरल्याण्डको खेल निकै रोचक हुने खेल प्रेमीले विश्वास लिएका छन् ।

खेलको महत्व दर्शाउदै कान्तिपुर टेलिभिजन खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

टिमहरु
नेदरल्यान्ड : पिटर सिलार, वेस्ले बारेसी, बेन कुपर, बस डि लेडे, स्कट एड्वार्डस, फ्रेड क्लासेन, स्टेफेन माईवर्ग, म्याक्स ओड्वाउड, हिडे ओभर्डिज्क, माइकल रिप्पोन, शेन स्नेटर, डानिअल टेर ब्राक, पौल भान मेकेरिन

नेपाल : पारस खड्का, आरिफ शेख, दिपेन्द्र एरी, ललित भण्डारी, शक्ति गौचन, करन केसी, सुबास खकुरेल, सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, रोहित कुमार, ललित राजवशीं, वसन्त रेग्मी, अनिल शाह, सोमपाल कामी र शरद भेष्वाकर ।

तस्वीर : फेसबुकबाट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button