आफ्नो पहिलो एकदिवसीय खेलमा नेपालको हार : खेल समिक्षा

पोखरा न्युज -१७, साउन । 

आफ्नो डेब्यु एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाललाई नेदरल्यान्डले ५५ रनको अन्तरले हराएको छ । ४ वर्ष पछि आफ्नो पहिलो एकदिवसीय खेलेको नेदरल्यान्डले पुनरागमन सफल बनाउँदा नेपाललाई भने डेब्यु खेलमा निराशा हात परेको छ ।

आम्स्टर्डमको एम्स्टिलभिन खेल मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली नेपालको कसिलो बलिङसामु निर्धारित ५० ओभर पनि टिक्न नसकी ४७.४ ओभरमा १८९ रन बनाउँदै अलआउट भयो । आफ्नो व्यक्तिगत दोस्रो ओभरको तेस्रो बलमै ड्यानिअल टेर ब्राकलाई क्लिन बोल्ड गर्दै सोमपाल कामी नेपालका लागि पहिलो एकदिवसीय विकेट लिने बलर बने । तर नेपालको बलिङको प्रमुख अस्त्र भने कप्तान पारस खड्का बने जसले आफ्नो कोटाको १० ओभर बलिङ गर्दै २६ रन खर्चेर ४ विकेट हासिल गरे । नेदरल्यान्डका लागि माइकल रिप्पोनले ५१(७६) रनको अर्धशतकीय पारी खेले । त्यस्तै बास डि लेडेले ३० र स्टेफेन माइवर्गले २९ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामीले ३ तथा करन केसी, सन्दिप लामिछाने र वसन्त रेग्मीले १-१ विकेट लिए ।

१९० रनको मध्यम लक्ष्य पाएको नेपालको शुरूवात भने उत्कृष्ट रह्यो । पहिलो विकेटका लागि नेपालका ओपनर ज्ञानेन्द्र मल्ल र अनिल शाहबीच ५८ रनको साझेदारी भयो । निकै सहज जीत उन्मुख नेपाली ब्याटिङ उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएसँगै अस्तव्यस्त बन्यो र अनन्त ४१.५ ओभर मात्र खेल्दै १३४ रनमै अलआउट बन्यो । ज्ञानेन्द्रले ५१(६१) रन बनाउँदा अनिल शाहले २१(३२) रन बनाए । यी दुईका अलावा दिपेन्द्र एरीको ३३ र पारस खड्काको १२ रन बाहेक अन्य खेलाडीले दुई अङ्कको स्कोर बनाउन सकेनन् । नेदरल्याण्डका लागि फ्रेड क्लासेन, माइकल रिप्पोन र पिटर सिलारले ३-३ विकेट लिए । खेलको म्यान अफ दि म्याच अलराउन्ड खेल प्रदर्शन गरेका नेदरल्याण्डमा माइकल रिप्पोन भए ।

नेपाली टिममा सधैं झै ब्याटिङमा कमजोरी देखियो । बलरहरुले कसिलो बलिङ गर्दै प्रतिद्वन्द्वीलाई सस्तैमा सीमित गरेपनी ब्याटिङले साथ नदिँदा खेल हार्न पुग्यो । बलिङतर्फ नेपालका लागि सोमपाल कामीलाई साथ दिने अर्को तीव्र गतिको बलरको पनि खाँचो भने देखियो । ब्याटिङ तर्फ अनिल शाहले शुरुआत पाए पनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्न सकेनन् भने ज्ञानेन्द्र मल्लले एङ्कोरको भुमिका निभाउन सकेनन् । नेपाली टिम सधैं कप्तान पारस खड्काको भरमा नै रहन नहुने पनि खेलले देखायो । दिपेन्द्र एेरीले ३३(४८) रन बनाए पनि अर्को छेउबाट साथ पाएनन् । खेलाडीहरु निरन्तर डट बल खेलेर  आफैलाई प्रेसर दिएर आउट भए । शक्ति गौचनले ९ रन बनाउन ४४ बल खेले ।

एकदिवसीय खेलको एउटा मुख्य पाटो सिङ्गल चोर्न सक्ने क्षमता हो जसमा नेपाल कमजोर देखियो । नयाँ बलको सिम र स्विङ्गको प्रभावलाई रोकेर पनि नेपाल पुरानो भईसकेको बल भने खेल्न असमर्थ रह्यो । स्पिनसँग खेल्न चाहिने तरिकाको पनि नेपाली टिममा कमजोरी देखियो । ४ रन भन्दा कम प्रती ओभर रनरेट चाहिएको नेपालले ससाना साझेदारीबाटै खेल जित्न सक्थ्यो तर साझेदारी बनाउन सकेन । पछिल्ला ८ विकेट केवल ४९ रनमै गुमाउनुले पनि यसको सङ्केत गर्दछ ।

यस अर्थमा नेपालले एकदिवसीय खेलमा सिक्न अझै धेरै बाकिँ रहेको देखिएको छ । बलिङ राम्रो भए पनि ब्याटिङमा अझ धेरै निखार र एकरुपताको खाँचो देखिएको छ । हुन त नेपालको पहिलो शृङ्खलामा धेरै आशा गर्नु पनि अन्याय हुनेछ तर गुमाउनु पर्ने केही नरहेको शृङ्खलाको दोस्रो खेलमा नेपाल आफ्ना कमजोरीहरुलाई सुधार गर्दै राम्रो खेल पस्कन्छ भन्नेमा सबै नेपालीहरु आशावादी भने रहनेछन् ।

तस्वीर – Twitter/ICC

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button