गण्डकी प्रदेशकै ठूलो मोबाइल मार्केट महेन्द्रपुलमा सुरु, भदौ १७ देखि मोबाइल एक्स्पो हुने

पोखरा न्यूज -२०, साउन ।

गण्डकी प्रदेशकै ठूलो मोबाइल मार्केट भएको दाबी गरिएको महेन्द्रपुल स्थित पोखरा मोबाइल टावरको आइतबार  औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।

मोबाइल टावर सञ्चालक समितिले आइतबार पत्रकार सम्मेलन गरी टावरको औपचारिक शुभारम्भ सहित पोखरा टावर मोबाइल एक्स्पो २०७५ गर्ने जानकारी दिएको हो । महेन्द्रपुलमा रहेको पोखरा मोबाइल टावरमा आगामी भदौ १७ गतेदेखि मोबाइल एक्स्पो हुने भएको हो  । पोखरा टावर प्रालिले सञ्चालन गरेको टावरमा हुने एक्स्पो  ११ दिन सम्म चल्नेछ । शुभारम्भ कार्यक्रममा बोल्दै समितिका अध्यक्ष उदय केसीले टावर गण्डकी प्रदेशकै ठूलो मोबाइल मार्केट भएको दाबी गरे । उनले भने, ‘यो गण्डकी प्रदेशकै ठूलो मोबाइल मार्केट हो । निशुल्क पार्किङ, सहरको मुख्य केन्द्रको अवस्थिति, ८० वटा मोबाइलका होलसेल र रिटेल पसल लगायतका सेवा दिएर हामी यो क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेका छौं ।’ उनले मोबाइल टावर औपचारिक रुपमा सञ्चालनमा आएपछि व्यवसायी र आफ्नो रोजाइका मोबाइल खरिदकर्ता दुवैलाई फाइदा हुने उल्लेख गरे ।

मेलाका प्रचार संयोजक नारायण सुवेदीले मेलमा विभिन्न कम्पनीका मोबाइलमा ५ देखि ५० प्रतिशतसम्म छुट, हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार र मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने बताए । उनले भने, ‘सबै प्रकारका कम्पनीका मोबाइल, सर्भिस सेन्टर होलसेल र खुद्रा पसल पोखराकै केन्द्रा हुँदा हामी मोबाइल खरिदकर्ताको सबैभन्दा उपयुक्त स्थल बन्ने छौं ।’ मेलाकै सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहारसमेत प्रदान गरिनेछ ।

मेला अवधिभर पोखरा मोबाइल टावरमा मेला बिहान १० बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ । मेला नभएका बेलमा टावर बिहान ८ बजेदेखि राति ८ बजेसम्म खुला रहने बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button