गण्डकी प्रदेशको दुग्ध विकास बोर्ड स्थापना विधेयक पारित

पोखरा न्यूज -२१, साउन ।

गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।

‘विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस्’ भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले गरेका प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।

यसअघि विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले बोर्डको आवश्यकतालगायत विषयमा आ–आफ्ना धारण राखेका थिए ।

सदस्य इन्द्रलाल सापकोटाले यो प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य पूरा गर्न बोर्डको स्थापना महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

अर्का सदस्य ओमकला गौतमले बार्डको स्थापनामा उपाध्यक्ष जस्तो गरिमामय पदमा नागरिकता, उमेर, शैक्षिक योग्यता जस्ता विषय उल्लेख नगरिनुले बोर्डको गरिमा कायम नरहने बताउँदै शैक्षिक योग्यता निर्धारण गर्न माग गर्नुभयो ।

त्यस्तै सदस्य पियारी थापाले कृषकको आर्थिक समृद्धिको पाटोसँग बोर्ड जोडिएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

छलफलमा सदस्य दीपक थापा, डोबाटे विश्वकर्मा लगायतले भाग लिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री थापाले कृषिलाई आर्थिक समृद्धिसँग जोड्ने सरकारको लक्ष्यअनुरुप दूधमा यो प्रदेशलाई आत्मनिर्भर बनाउने सोचका साथ बोर्ड स्थापना गरिन लागिएको जानकारी दिए ।

आजकै बैठकको शून्य तथा विशेष समयमा सदस्यले सार्वजनिक सरोकारका विभिन्न विषयमा सरकार एवम् प्रदेशसभाको ध्यानाकर्षण गराए ।

शून्य समयमा बोल्दै सदस्य कृष्णचन्द्र नेपालीले नवलपरासीको पुरातात्विक महत्वका मणिमुकुन्द सेन र नजिकै रहेको कैलाश आश्रमको संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराए।

अर्का सदस्य कृष्णबहादुर थापाले पोखरा महानगरपालिका–१७ र २१ जोड्ने दोभिल्ला पुल जोखिममा परेको हुँदा यसको तत्काल संरक्षण गर्नुपर्ने माग गरे ।

यसैगरी विशेष समयमा बोल्दै सदस्य कृष्ण थापाले मनाङ (ख) बाट प्रदेशसभामा प्रतिनिधित्व नभएको भन्दै उक्त ठाउँलाई जनप्रतिनिधिमूलक बनाउन माग गरे ।

उक्त क्षेत्रबाट निर्वाचत सदस्यलाई फौजदारी अभियोग मुद्दामा कारवाही गरिसकेपछि रिक्त पद राख्न नहुने उनले बताए ।

अर्का सदस्य मेखलाल श्रेष्ठले स्थानीय तहमा कर वृद्धि गरिएका कारण जनता मारमा परेको उल्लेख गर्दै जनतालाई जथाभावी कर नथोपर्न सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सदस्य धनमाया पोखरेल लामा र कोपिला बोहोराले बाढी पहिरोका समस्या लगायतका विषयमा प्रदेशसभा एवम् सरकारको ध्यानकर्षण गराए ।

अर्को बैठक साउन २७ गते दिनको १ बजे बस्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button