आजको राशिफल – साउन २२ गते मङ्गलबार (भिडियो सहित)

पोखरा न्यूज -२२, साउन ।

वि.सं. २०७५ साउन २२ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ अगस्ट ०७ तारिख,

साउन कृष्ण एकादशी, रोहिणी नक्षत्र, बृष राशिको चन्द्रमा, व्याघात योग, बब र बालब करण

आजको चाडपर्व र उत्सव : कामिका एकादशी व्रत,

आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र,

भोलिको चाडपर्व र उत्सव : द्विपुष्कर योग बिहानको राती ०१ बजेर १९ मिनेटपछि,

भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), शिलान्यास (सामान्य), डेरा सर्ने, दैलो राख्ने, कलशचक्र,

आजका लागि अशुभ समय :–

राहु काल : दिउँसो ०३:२८ देखि ०५:०८ सम्म

यमघण्ट : बिहान ०८:४९ देखि १०:२९ सम्म

गुलिक काल : दिउँसो १२:०९ देखि ०१:४९ सम्म

काल वारवेला : दिउँसो ०१:४९ देखि ०३:२८ सम्म

रोग वारवेला : बिहान ०५:३० देखि ०७:०९ सम्म र साँझ ०५:०८ देखि ०८:०८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

लाभ वारवेला : बिहान १०:२९ देखि १२:०९ सम्म

भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

राम्रो/नराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ । नातागोताको काममा संलग्न हुनुपर्ने छ, तर सरसहयोग गरे पनि असन्तुष्टि बढ्न सक्छ । व्यवसायीका लागि केही हदमा राम्रो छ । सामाजिक काममा जस र सम्मान पाउन कडा सङ्घर्ष गर्नुपर्छ ।

शुभरङ्ग : घिउ रङ

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने

के नगर्ने : अनावश्यक खानपान

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

अप्रिय र मन नमानेको काम वा घटनामा सरिक हुनु पर्नेछ । व्यापारिक वा दैनिक कामहरूबाट सामान्यतया लाभ हुने सङ्केत नै छ, तर सोचेजस्तो नहुनसक्छ । सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । खानपिनको समयमा फेरबदल हुनसक्छ । तथापि आज मन दोधार बनाउनु हुँदैन, राशिमा चन्द्रमा छ, अतः शीघ्र समाप्त हुने काम गरिहाल्नु असल हुनेछ । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपानमा नियन्त्रण गर्नु राम्रो हुन्छ । आवश्यक भए पनि परिआएका काममा सहयोग माग्दा मित्र र सहयोगीले आआफ्नै बाध्यता तेर्साउने छन्, जे गरे पनि आफैं खट्नु पर्ने समय छ । यात्राको सङ्केत छ ।

शुभरङ्ग : सिन्दूरे रातो

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने

के नगर्ने : हडबड र शीघ्रता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

द्वादश भावमा चन्द्रमा छ, आज भनेजस्तो सफलता प्राप्त नहुनसक्छ । नचाहेको क्षेत्रमा अनायासै खर्च बृद्धि हुने सम्भावना देखिन्छ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पर्ने हुन्छ । नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ, मनमा दोधारको अवस्था सिर्जना हुनेछ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । रातीअबेर तपाईंको आफ्नै घरमा चन्द्रमा आउने भएकाले केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ ।

शुभरङ्ग : सेतो वा बैैजनी

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : धर्मराज

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : दान, धर्म, परोपकार

के नगर्ने : रिसराग, उद्वेग र क्रोध

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । विश्वासको वातावरण बन्नेछ ।

शुभरङ्ग : कालो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : घिउरङ्ग/क्रिम

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने

के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज कर्मसिद्धिको समय आएको छ । समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । मातापिता र अभिभावकको आशीर्वादले काम गर्नेछ ।

शुभरङ्ग : ध्वाँसे

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : महालक्ष्मी

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने

के नगर्ने : लोभ र मोह

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज परिश्रम गरेभन्दा राम्रो परिणाम आउन सक्ने भाग्यमा चन्द्रमा भएको दिन हो । अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । सामाजिक र परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्ने छ । दाजुभाइ र बन्धुबान्धवको सद्भाव र सहयोग प्राप्त हुनेछ । कामको दायित्व थपिने सम्भावना छ । कर्मप्रतिको समर्पणभाव बढ्ने छ ।

शुभरङ्ग : सेतो वा पहेंलो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : कुलगुरु/शिवजी

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग

के नगर्ने : आडम्बर र ढोंगीपन

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आयुक्षेत्रमा चन्द्रमा भएकाले मन डराउन सक्छ, तर समस्यादेखि नभाग्नु होला, सफलता तपाईंको मुट्ठीमा छ, नत्र पछुतो हुनसक्छ । तपाईंको राशिमा शुभग्रहको बल प्राप्त भएकाले धन, धर्म र भाग्यबलमा अभिबृद्धि हुनेछ । स्वास्थ्य पक्षमा देखिएको कमजोरी हट्दै जानेछ । झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला ।

शुभरङ्ग : कालो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : कालभैरव

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्

के नगर्ने : असुरक्षित यात्रा

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि घरायसी मामिला र प्रेमसम्बन्धका दृष्टिले कमजोर दिन छ । मानप्रतिष्ठा र उन्नति/प्रगतिका लागि दौडधूप गरिने छ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले हाँके/ताकेका काममा सफलता मिल्नेछ । आम्दानीमा कमी त हुने छैन, तर पारिवारिक जीवनमा निरसता आउने सम्भावना छ । परिवारजनका भावनालाई समेटेर अघि बढ्नु र प्रेमजीवनलाई सन्तुलनमा राख्ने प्रयास गर्नु राम्रो हुनेछ । मनोरञ्जन र खेलवाडले कर्मक्षेत्रमा प्रभाव पार्नसक्छ, सचेत भई आहारविहारमा समेत ध्यान दिनु राम्रो हुन्छ, स्वास्थ्यमा बाधा पुग्ने सङ्केत पनि छ ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवर्पावती

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : परिवारमा अधिकतम समय दिने

के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुनेछ । घरायसी र प्रेमसम्बन्धमा देखिएका तनाव र समस्याको अन्त्य हुुने सङ्केत छ, जीवनसाथी र प्रेयसीसितको दूरीमा क्रमशः कमी आउने छ ।

शुभरङ्ग : हलुका सेतो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : भगवान् शङ्कर

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने

के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन्, उनीहरूका लागि लगानी बढ्न सक्छ । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । शैक्षिक, प्राज्ञिक, बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा ध्यान दिने समय आएको छ, व्यवहारिक कारणले दिउँसोसम्म समय निकाल्न गाह्रो भए पनि दिन ढल्दै जाँदा समय अनुकूल हुँदै जानेछ । आज जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नुपर्छ ।

शुभरङ्ग : हलुका नीलो वा हरियो

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने

के नगर्ने : बुद्धिको दुरुपयोग

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

चौथो चन्द्रमाका कारण सुरुमा मनमा डर र निराशाको अनुभूति गराउन सक्छ, तर परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ ।

शुभरङ्ग : रातो वा पहेंलो

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : भगवती दुर्गा

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : पति/पत्नी, प्रेमी/प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने

के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

समाजमा सम्मानित र चर्चित व्यक्तिहरूको साथ सहयोग प्राप्त हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ ।

शुभरङ्ग : गाढा नीलो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : गणेश

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण

के नगर्ने : घमण्ड

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

स्रोत – ज्योतिष साथी, कृष्ण प्रसाद कोइराला

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button