कृषिका लागि जलाधार संरक्षण

पोखरा न्यूज -२२, साउन ।

कास्की, तनहुँ र स्याङ्जा भएर बग्ने सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा यस आसपासको ५०० रोपनीभन्दा बढी उब्जाउयोग्य जग्गा बगरमा परिणत भएको छ ।

कृषि योग्य खोला किनारका जमीन वर्षौंदेखि जलाधार संरक्षणको अभावमा उपयोगविहीन बनेका हुन् । कृषिका अतिरिक्त जल पर्यटनको सम्भावना रहेको यस क्षेत्रको संरक्षण हुन नसक्दा वर्षेनी कटान तथा भूक्षय बढेको स्थानीय समाजसेवी एवं सुरौदी जलाधार संरक्षण समितिका अध्यक्ष मनराज गुरुङले बताए ।

उक्त जलाधार संरक्षणका लागि तीनवटै जिल्लाका उपभोक्ता सम्मिलित समितिले संरक्षणको प्रयास थालेको छ । उनका अनुसार जलाधारको संरक्षण र उपयोग गर्न सके स्याङ्जाको प्युरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहुँको घारी बगरसम्मका अधिकांश खेतीयोग्य भू–भाग सुरौदी खोलाको पानीले सिँचाइ गर्न सकिन्छ ।

जल पर्यटनको विकासका साथै माछापालनलाई पनि यहाँको आयआर्जनको महत्वपूर्ण विकल्पका रुपमा बढाउन सकिने सम्भावना छ । खोलालाई निश्चित बाटोमा हिँडाउन ठाउँठाउँमा तटबन्ध निर्माण गर्नु आवश्यक रहेको समितिका उपाध्यक्ष चेतबहादुर महतले बताए ।

खोला बग्ने भूभागमध्ये प्रथम चरणमा प्युरी दोभान, कुर्लिङ र घुमाउनेमा तटबन्ध निर्माण गर्नुपर्ने देखिएको बताउँदै उनले यसका लागि बृहत् गुरुयोजना तयार गर्नुपर्ने आवश्यकता औंलाए ।

आसपासका बासिन्दामा जलाधार संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि गराउँदै यसलाई आयआर्जनको माध्यम बनाउन प्रेरित गरिनुपर्ने र खोला आसपासका सामूदायिक बन उपभोक्ता समिति समेतको सहकार्यमा संरक्षण कार्यलाई अघि बढाइनुपर्ने समितिको सोच छ ।

पछिल्ला वर्षमा नदीजन्य ढुंगा, गिट्टी, बालुवा जथाभावी उत्खनन बढेकाले त्यसलाई रोक्न समितिले तीनवटै जिल्लास्थित सम्बद्ध निकायमा अघिल्लो आवमा नै ध्यानाकर्षण गराएको थियो ।

विगतमा स्थानीय जातका माछा प्रशस्त हुने सुरौदी खोलामा करेन्ट लगाएर, विषादी हालेर मार्ने क्रम बढेपछि माछा कम हुँदै गएकाले नियन्त्रण प्रयास थालिएको उपाध्यक्ष महतले जानकारी दिए ।

नदीको वर्षेनी धार परिवर्तन हुँदै जाँदा करीब ६० वर्षयता कैयौँ खेतीयोग्य जमीन बगरमा परिणत भएको समाजसेवी यमप्रसाद पौडेलले बताए । खोला नियन्त्रणका साथै तनहुँ र कास्कीको सिमामा पर्ने राँकीमा पक्की पुल निर्माण गरे यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको बजारीकरण निकै सहज हुने उनको भनाइ थियो ।सुरौदी खोलाको सिरान प्युरी दोभानमा मोटर गुड्ने पुल निर्माण भइसकेको छ भने घुमाउनेमा पुल निर्माण भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button