बागलुङको मानव सेवा आश्रममा सहारा

पोखरा न्यूज -३०, साउन ।

सहारा गुमाएर सडकमा पुगेका ५४ जना व्यक्तिलाई मानव सेवा आश्रम बागलुङ शाखाले उद्धार गरेको छ । विसं २०७३ चैतमा खुलेको आश्रमले आठ जना बेवारिसे अवस्थामा पुगेका व्यक्तिलाई परिवारसँग पुनर्मिलन गराएको छ । हाल आश्रममा २१ सडकमा अलपत्र परेका अशक्त, मनोरोगी व्यक्तिले आश्रय लिइरहेका छन् ।

उद्धारपछि दुई जनाको मृत्यु भइसकेको र दुई जना भागेको आश्रमका संयोजक सुमिरा लामाले जानकारी दिए । “यहाँ राख्न नसकिने अवस्थाका केहीलाई पोखरा आश्रममा पनि पठाएका छौँ”, उनले भने । कडा मनोरोगी, अस्वभाविक व्यवहार गर्ने व्यक्तिलाई आश्रममा राख्ने कार्य चुनौतीपूर्ण रहेको उनको अनुभव छ ।

शारीरिक र मानसिक दुवैरुपमा अशक्त व्यक्तिलाई पनि सडकबाट उद्धार गरी आश्रममा ल्याउने गरिएको छ । आश्रमले सहारा विहीन बनेका व्यक्तिको उद्धार, उपचार, पालनपोषण र पारिवारिक मिलन गराउने गरेको छ । मानसिक सन्तुलन गुमाएका व्यक्ति पनि आश्रमको हेरचाह र उपचारले निको हुने गरेका छन् ।

मानिसक रोगबाट ग्रसित व्यक्तिको उपचारका लागि मानसिक रोग विशेषज्ञलाई नै आश्रममा बोलाउने गरिएको छ । सडकमा बेवारिसे बनेका कतिपय भारतीय नागरिकलाई पनि आश्रमले उद्धार गरेको छ । मनोरोग, अपाङ्गता, गरिबीजस्ता कारणले सहारा विहीन बनेका व्यक्तिलाई आश्रम सारथी नै बनेको छ ।

परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम खोलिएको आश्रमका अभियन्ता मनिष रायमाझीले बताए । रायमाझी लगायत केही युवाले बागलुङमा आश्रम खोल्नका लागि पहल गरेका थिए । उनका अनुसार आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि उपलब्ध गराइएको छ ।

आश्रम सञ्चालनको लागि देशविदेशमा रहेका नेपालीले आर्थिक सहायता प्रदान गरेका छन् । हालसम्म आश्रम सञ्चालन र व्यवस्थापनको लागि रु १३ लाख ५५ हजार खर्च भएको जनाइएको छ । “व्यक्ति, सङ्घसंस्था र विभिन्न निकायको सहायताबाट आश्रम चलेको छ”, संयोजक लामाले भने । बागलुङसँगै मानव सेवा आश्रमका देशभरमा गरी १० वटा शाखा सञ्चालनमा छन् ।

मानव सेवा आश्रमले सफलता पाउँदै गएपछि देशका अन्य जिल्लामा पनि विस्तार गर्ने योजना रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । विसं २०६९ मा मकवानपुरमा पहिलोपटक खुलेको आश्रमले देशभर गरी हालसम्म एक हजार ५०० भन्दा बढी व्यक्तिलाई सडकबाट उद्धार गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button