एसियाड : नेपालको खराब प्रदर्शन

पोखरा न्यूज -०३, भदौ ।

इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज आइतबार कमजोर प्रदर्शन गरेको छ । आज ९ खेलमा सहभागी जनाएको नेपाली टोलीले ब्याडमिन्टन खेलको एक स्पर्धामा बाहेक अन्य सबैजसो खेलमा पराजित भएको छ ।

फुटबलमा पहिले नै दुई खेल हारिसकेको नेपाली यु-२३ टिम पाकिस्तानसँग पनि २-१ गोलले पराजित हुँदै प्रतियोगिताबाट औपचारिक बिदा भयो । पाकिस्तान फुटबल टिमले भने ४४ वर्ष पछि एसियाडमा पहिलो जीत हासिल गर्यो । तेक्वान्दोतर्फ पुरुष पुम्सेमा नेपाल कमल श्रेष्ठ ताईपेईका खेलाडीसँग पराजित भए भने महिलातर्फ पार्वती गुरुङ पनि ताईपेई कै खेलाडीसँग पराजित भइन् । त्यस्तै महिला टिम पुम्सेको क्वाटरफाइनलमा पनि चाइनिज ताइपेईकै टिम नेपाली टिमको बाधक बन्न पुग्यो ।

कुस्तीमा नेपालका सरोज यादव मङ्गोलियाका खेलाडीसँग १०-० पराजित भए भने ७४ केजी फृस्टाइलमा सुरेश चुनर जापानका खेलाडीसँग १०-० कै स्कोरले पराजित हुन पुगे । ब्याडमिन्टनको राउन्ड अफ १६ मा नेपाली पुरुष टिमले पाकिस्तान माथि ३-१ को जीत हासिल गर्दा महिला टिम भने माल्दिभ्ससँग ३-२ ले पराजित हुन पुग्यो । उसुमा नेपालका चित्र सिंह ठकुरी कोरियाका खेलाडीसँग पराजित भए भने जुनी राई भियतनामका खेलाडीसँग पराजित भइन् । महिला नानक्वानमा निमा घर्तीमगर ११ स्थानमा र विजय सिन्जाली पुरुष छाङक्वानको १४ औं स्थानमा सीमित रहे ।

टेनिसमा मायाङ्का राणा हङकङका खेलाडीसँग र माहिका राणा भियतनामका खेलाडीसँग हार्न पुगे । अभिषेक बास्तोला पनि भियतनामका खेलाडी सँगै २-१ को सेटमा पराजित भए । सरंक्षक भूषण बज्राचार्य पनि २-० को सोझो सेटमा पराजित भए । मिक्स डबल्समा पनि नेपाल हङकङसँग २-० अन्तरले नै पराजित भयो । मिक्स डबल्स इभेन्टमा माहिका र प्रनभ खनालको जोडी तथा सरंक्षक र एन्ना माथेमाको जोडीले सहभागिता जनाएको थियो । सुटिङमा १० मिटर एयर राइफलमा नेपाल २२ औँ स्थानमा रह्यो भने कबड्डी पुरुषमा नेपाल आयोजक इन्डोनेशियासँग ३३-२९ स्कोरले पराजित भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button