जनै पूर्णिमा, क्वाँटी पूर्णे, रक्षाबन्धन – शास्त्रीय विशेषता (भिडियो सहित)

पोखरा न्यूज – १०, भदौ ।

नेपाललगायत आर्यावर्तको प्रत्येक देश र भूभागमा प्राचीन कालदेखि नै तिथि, पर्व र उपासनाको विशेष महत्त्व रहेको पाइन्छ । विश्वमा मौलाउँदो विज्ञान र प्रगतिको युगमा पनि हाम्रो प्राचीन परम्परा र संस्कारले मानव जीवन र दिनचर्या व्यवस्थित तुल्याउन एकातिर मद्दत गर्दछ भने अनि समग्र मानव समुदायलाई एउटै सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ । यस माध्यमबाट हामीमा सामाजिक र भावनात्मक सम्बन्धको विकास हुनाले वसुधैव कुटुम्बकम् को मान्यता चरितार्थ हुने गर्दछ । हुन त, कतिपय चाडपर्व मनाउने विधि र परम्परामा आधुनिकताका लक्षण देखिएका छन्, केही विसङ्गति पनि भित्रिएका छन्, यद्यपि ती क्रियाकलापले पर्वको मूल तत्त्व र चिन्तनलाई नै अस्वीकृत गरेको परिस्थिति अद्यापि देखिंदैन ।

हाम्रो सनातन वैदिक सामाजिक व्यवस्थामा वर्णाश्रम धर्मको विशेष महत्त्व छ । संस्कारको कसी र कामको प्रकृतिमा आधारित ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र यी चारवटा वर्णव्यवस्थाका कारण हाम्रो प्राचीन समाज आजको आधुनिक समाजको तुलनामा व्यवस्थित र अनुशासित रहेको अनुमान गर्न सक्दछौं । वंशपरम्परामा आधारित वर्णव्यवस्थामा देखिएका छुटपुट विकारको प्रारम्भ भएको धेरै समय बितेको छैन, केही शताब्दीभित्र मौलाएको यो प्रचलन पनि लोकतान्त्रिक शासनव्यवस्था र सामाजिक एवं कानुनी मान्यतामा आएको बदलावका कारण अब समाप्तिका क्रममा रहेको देखिन्छ ।

चारवटा वर्णव्यवस्था (ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र) र चारवटा पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष) मा विभाजित आर्यसमाजको प्राचीन वैदिक व्यवस्थामा हामीकहाँ वर्षभरिमा मुख्यमुख्य चार वटा चाडको विशेष महत्त्व हुने गर्दथ्यो । जसमा विशेषतः प्रथम वर्ण अर्तात् ब्राह्मणद्वारा संयोजन गरिने श्रावणी पर्व ऋषितर्पणी र रक्षाबन्धन पर्व हो, जुन पर्वले समाजको आध्यात्मिक शक्तिलाई सञ्चय गर्ने गर्दथ्यो । क्षत्रिय वर्णद्वारा संयोजन गरिने बडा दशैं (विजया दशमी) को पर्व शक्तिउपासनाको अर्को पर्व हो, जसमा समाजको सैन्यबललाई सुसज्जित तुल्याउने काम हुन्थ्यो । वैश्य समुदायमा महत्त्व दिई मनाइने तिहार (महालक्ष्मीको भक्तिआराधना र दीपावलीको पर्व) तेस्रो ठूलो पर्व हो, जसमा समाजको अर्थशक्तिलाई व्यवस्थित गर्ने र आर्थिक क्रियाकलापको हरहिसाब राख्ने काम हुन्थ्यो । त्यस्तै शुद्र वर्णको संयोजनमा सम्पन्न हुने होली पर्व चौथो पर्व हो, जसमा हाँसखेल, मनोरञ्जन, खुसी र उमङ्गको सञ्चरण गरी सामाजिक समन्वय र समानताको बोध गर्दै तात्कालिक समाजमा विद्यमान असमानता र विभेदको पर्खाललाई भत्काई सद्भाव, बन्धुत्व र भाइचाराको सन्देश प्रवाहित गरिन्थ्यो ।


समाजका चारवटै वर्णका अध्यात्म, सैन्यबल, अर्थशक्ति एवं पुरुषार्थ जस्ता शक्तिका माध्यमले सामाजिक सम्बन्ध र सर्वाङ्गीण समाजलाई सुदृढ बनाउने समन्वयात्मक प्रयास नै यी चाडपर्वको मूल उद्देश्य थियो भन्नु उपयुक्त हुन्छ । त्यसैले सनातनधर्मका अनुयायीहरूलाई बिथोल्न र छिन्नभिन्न तुल्याउन विधर्मी र शत्रुहरूले गरेका पटकपटकका धर्मपरिवर्तन, प्रलोभन र अाततायी क्रियाकलाप आदि दुरूह प्रयास विफल बन्न पुगे र अनेकानेक विघ्न तथा बाधाव्यवधान ब्यहोरेर पनि हाम्रो संस्कृति र सभ्यताले आफ्नो अस्मितालाई सुरक्षित राख्न सक्यो । सनातन धर्मका चाडपर्व र व्रतोत्सवको मुख्य विशेषता पनि यही नै हो । यिनै पर्वहरूमध्ये एउटा विशिष्ट पर्व हो – जनै पूर्णिमा । यो श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ र यसलार्इ श्रावणी पर्व पनि भन्ने गरिन्छ । यस पर्वलाई नेपालमा चार किसिमका भिन्नभिन्न नाम, संस्कार र विधानको प्रयोग गरी मनाउने परम्परा छ :- ऋषितर्पणी, जनै पूर्णिमा, रक्षाबन्धन, क्वाँटी पूर्णिमा ।

स्रोत – ज्योतिष साथी, कृष्ण प्रसाद कोइराला 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button