शुक्रबार देखि पोखरा – लुम्बिनी अत्याधुनिक सुविधासम्पन्न बस सेवा संचालन हुने

पोखरा न्यूज – ११, भदौ ।

पोखरा जगदम्बा ट्राभल्स प्रालिले दुई पर्यटकीय सहर पोखरा  र लुम्बिनी जोड्न आउदो शुक्रबार देखि  सिधा बस सेवा संचालन गर्ने भएको छ । पोखरा र लुम्बिनी क्षेत्रको पर्यटन प्रबर्द्धन  गर्ने उद्धेश्यले शुक्रबार देखि अत्याधुनिक सुविधा सम्पन्न (भिआइपि डिलक्स) बस सेवा संचालनमा ल्याउने तयारी भएको प्रालिका अध्यक्ष केशव प्रसाद अधिकारीले बताए ।

सोमबार एक समारोहका बिच पोखरा लुम्बिनीको अत्याधुनिक सुविधा सम्पन्न बस सेवाको प्रालिका प्रमुख संरक्षक द्रोणराज अधिकारीले उद्घाटन गर्दै गुणस्तरिय यात्रुहरुको चाहानाले गर्दा पोखरा देखि धेरै शहरहरुको सडक यातायातमा कम्पनि  जोडिदै गएको बताए । २०३३ साल देखि निरन्तर आफुहरुले निकै कठिन अबस्थामा पनि यातायात क्षेत्रमा लागानी गरेको उनले बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले यातायात क्षेत्रमा सरकारको नीति तथा कार्यक्रम स्पष्ट नभएको दाबी गरे । केहि समय अघि पोखराका पर्यटन व्यवसायिहरुले पोखरा लुम्बिनीमा सिधा बस सेवा संचालनको प्रयास भए पनि असफल भएको अबस्थामा जगदम्बाले सुरु गरेकोमा खुसि व्यक्त गर्दै यस्तो सेवा विस्तारले पर्यटन प्रबर्द्धन हुने उनले बताए । उनले भने “ यातायात खेत्रमा  मात्र होईन, धेरै कुरामा र सरकारमा समेत सिण्डिकेट रहेको छ ।”

पोखरा उद्योग वाणिज्य संघका महासचिव समेत रहेका कम्पनी सदस्य दामु अधिकारीले गण्डकी प्रदेशको राजधानिलाई अन्य प्रदेशको राजधानिहरुलाई सडक मार्गबाट जोड्न यस्ता सुविधा सम्पन्न बसहरु आवश्यक भएको बताए । सरकारको नयाँ कर प्रणालीले निजी क्षेत्र स्थापित हुन कठिन परेको उनले गुनासो गरे ।

पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले उक्त बस सेवासँगै सडक रुटमा खानाको व्यवस्था पनि गुणस्तर दिलाउन ध्यान दिनुपर्ने बताए ।  पश्चिमाञ्चल होटल संघका महासचिव गणेश पहारीले पोखरामा सुविधा सम्पन्न बसपार्क बनाउनतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु पर्ने बताए । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासुदेव त्रिपाठीले सडकको पूर्वाधार राम्रो बनाउन सरकारले ध्यान पु¥याउनु पर्ने बताए । बरिष्ठ पत्रकार पुण्य पौडेलले यातायातामा प्रतिष्प्रर्धा र गुणस्तरिय सेवामा ध्यान दिन आग्रह गर्दै मध्यम बर्गलाइ लक्षिय गर्न थप सुझाव दिए ।

गौतम बुद्धको जन्मथलो लुम्बिनीबाट पनि  भदौं १७ देखि देखि निरन्तर संचालन हुने गरी लुम्बिनी पोखरा सिधा बस सेवा संचालन हुने भएको अधिकारीले जनाए । उनले भने “ हामीले पोखरा काठमाण्डौं, पोखरा सौराहा हुदै पोखरा लुम्बिनीलाई सडक यातायातमा जोड्नको लागि सुविधा सम्पन्न बस सेवा आवश्यक भएको देखेर लगानी गरेका हौं । ” पर्यटकहरुको ईच्छा र चाहाना अनुसार बस सङख्या बृद्धि गरी थप अन्य क्षेत्रसंग जोड्नको लागि समेत आफुहरु तयार रहेको अधिकारीले जनाए । अधिकारीले भने “अति स्तरिय पर्यटकीय बस सेवामा रीमोट कन्ट्रोलबाट संचालन गर्न सकिने २० सिटे स्लिपर सिट रहेको छ, बसमा पुर्ण रुपमा वातानुकुलित एयर कन्ट्रोलर सिस्टम रहेको छ । ”  उनका अनुसार आन्तरिक पर्यटकको लागि २ हजार र विदेशी पर्यटकहरुको लागि २ हजार ५ सय रुपैया बस भाडा  कायम गरिएको छ ।

नन स्टप उक्त बसमा  पोखराबाट नारायणगढ, बुटवल, भैरहवा सुनौंनी हुदै लुम्बिनीसम्म करिब ८ घण्टाको यात्रा हुने भएको अध्यक्ष अधिकारीले जनाए । यात्रुको लागि उक्त बस भित्र बिहानको  नास्ता, चिया, कफि, कोलड्रिङसको साथमा मध्यम गन्तव्यमा खानाको ब्याबस्था मिलाएको उनले जनाए ।

१ करोड ५० लाखको लगानीमा दुई वटा बस सेवा हाल सो रुटमा संचालनमा आउने भएको हो ।  केही समय अघि पोखराका पर्यटन व्यवसायिहरुको पहलमा पोखरा लुम्बिनीको लागि पर्यटक स्तरिय सिधा बस सेवा संचालनको प्रयास भए पनि विभिन्न याताताय समितिहरुको सिण्डिकेटका कारण सेवा संचालन हुन सकेको थिएन।  २०४० सालबाट जगदम्बा प्रतिष्ठान अन्र्तगत स्थापना भएको जगदम्बा ट्राभल्सले विगत केहि बर्ष अघि देखि पोखरा काठमाण्डौं दैनिक दुई÷दुई वटा तथा पोखरा सौराहा अत्याधुनिक सुविधा सम्पन्न सिधा बस सेवा संचालन गर्दै आएको छ ।

प्रालिका अध्यक्ष केशव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा कम्पनीका कानुनी सल्लाहकार शिव वाग्लेले कार्यक्रम संचलन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button