प्रतियोगितालाई सहयोग आउने क्रम जारी छ – आर्थिक संयोजक

पोखरा न्यूज- १७, भदौ । 

नवराज पौडेल – आर्थिक संयोजक

पोखरा महानगरपालिका १६ स्थित लामाचौरमा रहेको नव आर्दश सामुदायिक विकास समाजले यही भदौं २३ देखि २७ गतेसम्म लामाचौरको ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा २२ औं संस्करणको लामाचौर तिज महोत्सव एवं राष्ट्रिय महिला भलिवल प्रतियोगिता आयोजना गर्दैछ । उक्त महोत्सव सम्पन्न गर्न करिब ४० लाख खर्च लाग्ने आयोजकले बताइरहेका बेला  उक्त रकम कसरी जोहो गर्दै हुनुहुन्छ भनि पोखरा न्यूज डटकमले महोत्सवका आर्थिक संयोजक नवराज पौडेल सँग गरेको छोटो कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौ ।

यस बर्षको महोत्सव सम्पन्न गर्नको लागि आवश्यक पर्ने अर्थको जोहो कसरी  गर्दै हुनुहुन्छ ?

जस्तो सुकै कार्यक्रम गर्दा अर्थको खाँचो वा आवश्यक पर्दछ  नै । हाम्रो महोत्सवमा करिब ४० लाखको खर्च हुने अनुमान गरिएकोले गर्दा खर्चको हिसावले यो निकै ठुलो रकम हो । हामीले  बिगतमा  स्वदेशी तथा विदेशी  लामाचौर निवासितर्फ बढी केन्द्रित हुदै अन्य प्रतिष्ठित उद्योगी व्यवसायीहरुको साथ र सहयोग पाउने गरेका थियौ, यस बर्ष पनि हामीले त्यसै गरी सहयोग संकलन गर्ने अभियानमा दत्त चित्त भएर लागेका छौं । हामीले तिजे महोत्सवको साथमा धेरै खेल गतिविधिहरु संगै जोडेकोले खर्च बढी हुने हुँदा हामीले खर्चमा  मितव्ययीता अपनाउने गरेका छौं । विभिन्न संघ संस्था र व्यक्तिबाट सहयोग प्राप्त भएकै कारण आज हामीले यो महोत्सव निर्वाद रुपमा निरन्तर संचालन गर्दै आएका छौं । हामी बिषेशगरी लामाचौर क्षेत्रमा घर दैलोको रुपमा हाम्रो समुह घर घरमा वा पसलहरुमा पुगेर महोत्सवको प्रचार गर्दै निम्तो बाड्दै सहयोग संकलन पनि गरेका छौं ।

हालसम्म कति रकम संकलन भएको छ ?

हालसम्म करिब ३६ लाख बराबरको सहयोग रकमको  हामीले वचन वद्धक्ता पाएका छौं । हामीले महोत्सव सम्पन्न गरेर केहि रकम बचत गर्नुपर्छ । समाजले गर्ने सामाजिक क्रियाकलापमा  हामीले बचत रकमलाई सहि ढंगले खर्च गर्ने गर्दछौं । हामीसंग ३ वटा एम्बुलेन्स र एक शव वहान भएको हुदा त्यसलाई संचालन गर्न महोत्सव सहयोगी हुदै आएको छ । जापान, अष्ट्रेलिया लगायतका देशबाट सहयोग आउने क्रम जारी नै रहेको छ।

आर्थिक जोहो गर्दा पहिला र अहिलेको परिस्थिती कति फरक छ त ?

अवश्य पनि पैसा भनेको जोकोहीलाई पनि उतिकै माया र सहि ढंगले मात्र खर्च गरौं भन्ने नै हुन्छ । पैसा सहयोग गर्ने भन्ने कुरा गाह्रो कुरा हो । कतिपयले यस्तो कार्यक्रमलाई निरन्तर सहयोग गर्दै पनि आउनु भएको छ भने केहिले सहयोग गर्न अलि हिचकिचावट गर्ने गरेको पाईन्छ । बजारमा पैसा संकलन गर्ने एउटा अभियानमा हिड्दा धेरै आरोप पनि खेप्नु पर्छ । धेरैले  हाम्रो गााँउ ठाँउमा हुने हाम्रो कार्यक्रम समाजले अगुवाई गरेको छ भनी हामीलाई हौसाउदै सहयोग गर्दै पनि आएका  हुनुहुन्छ । यस अघि दुई पटक म आर्थिक संयोजक भएको नाताले हामीलाई उक्त महोत्सव सम्पन्न गर्न धेरै नै मुस्किल भने भएको छैन । हामीलाई कतिपय ठाँउमा वोलाएरै सहयोग गर्नेहरु पनि हुनुहुन्छ ।

महोत्सवका मुख्य आयश्रोत के के हुन ?

तिज महोत्सवको मुख्य आयश्रोत भनेर त्यस्तो खासै छैन हामीले सिमित स्टलको व्याबस्था गरेका हुन्छौं भने स्टलहरुको निश्चित शुल्क, वालउद्यान, मुख्य प्रयोजक, प्रयोजकहरु तथा राष्ट्रिय महिला भलिवलको प्रबेश शुल्क आदि हाम्रो आम्दानीका  श्रोत हुन् ।

महोत्सवमा खर्च बढी कुन क्षेत्रमा हुने गरेको छ ?

हामीले तिजे महोत्सवको मुख्य आकर्षणको रुपमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता गर्ने गरेका छौं त्यसमा हाम्रो ठुलो खर्च हुने गर्दछ । त्यसैगरी महोत्सवका  विभिन्न कार्यक्रममा खर्च हुने गरेको छ ।

अन्य मेला र महोत्सवको भिडमा लामाचौर महोत्सवमै दर्शक किन आउने ?

अन्य महोत्सव भन्दा हाम्रो महोत्सवमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता देखि अन्य विभिन्न खेल सहित नृत्य, तिज गित लगायतका विभिन्न कार्यक्रमले दर्शकको मन छुने कार्यक्रमहरु हुने हुदा हाम्रो महोत्सव अन्य मेला र महोत्सव भन्दा फरक छ । हाम्रो महोत्सवमा वालवालिका देखि बृद्धसम्मको लागि विभिन्न कार्यक्रमहरु समाबेश  गरेका छौ । हामी सम्पूर्ण महानुभाबहरुलाई यो महोत्सबमा सहभागी भइ मनोरन्जन लिई आबश्यक सल्लाह तथा सुझाब प्रदान गर्नुहुन बिनम्र अनुरोध समेत गर्दछौ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button