६ महिना भित्र पोखरा रंगशाला निमार्ण, पोखरामा प्याराग्लाइडिङ वल्र्ड कप- सचिव विष्ट

डीएनबी, पोखरा न्यूज – २०, भदौ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले आगामी ६ महिना भित्र पोखरा रंगशालामा अन्तराष्ट्रिय स्तरकै प्यारापिट सहितको फुटवल मैदान निमार्ण हुने दाबी गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकर भेटघाट कार्यक्रममा बोल्दै सदस्य सचिव विष्टले पोखरा स्टुडिएम निमार्णको लागि हाल दुई अन्तराष्ट्रिय कम्पनिले विट गरेको बताए ।

दुई कम्पनीको प्राविधिक हिसावले ठिक भए पनि हाल आर्थिक हिसावले आगामी एक हप्ता भित्र टुंगो लगाएसंगै ६ महिना भित्र उक्त स्टुडिएम निमार्ण सम्पन्न हुने उनले जनाए । एक बर्ष भन्दा ठुलो प्रोजेक्ट भएकोले ग्लोवल टेण्डर आव्हान गरिदा पहिलो पटक एउटा मात्र कम्पनि छनौट हुदा प्रतिष्पर्धा विना टेण्डर दिन नमिल्ने भएकोले गर्दा दोश्रो पटक टेण्डर आव्हान गरिएको उनको भनाइ छ  ।

सदस्य सचिव विष्टले आगामी नोवेम्वर १ देखि ५ तारिखकसम्म पोखरामा पहिलो पटक प्याराग्लाईडिङको वल्र्ड च्याम्पियनशिप हुने खुलासा गरे  । पोखरामा यस अघि दुई पटक सम्म प्याराग्लाईडिङको प्रि–वल्र्ड कप समेत भएकोले गर्दा यस पटक वल्र्ड कप गर्ने बाटो समेत खुलेकोले प्राविधिक हिसावले पोखरामा उक्त प्रतियेगिताको लागि तयारी सुरु भएको समेत उनले जनाए । उनले भने “ व्यवसायीकबाट सुरु भएको प्याराग्लाइडिङले नेपाली खेलकुद ईतिहासमा धेरै राम्रो प्रगती गरेको छ, यसको श्रय पोखरेली र प्याराग्लाईडिङ पाईलटहरुलाई जान्छ, राज्यले न्यून लगानी गर्दा पनि एसियाली गेम्समा पदक ल्याउने ठुलो उपलब्धी हो । ” पोखराको प्याराग्लाईडिङलाई खेलको हिसावले व्यबस्थित गर्न राखेपले ध्यान दिने तर व्यवसायीक रुपमा भने आफुहरुले त्यसको कुनै रेखदेख नगर्ने उनले जनाए । प्याराग्लाईडिङमा करिब राज्यले ४० लाख जसो लगानीबाटै पदक हात पारेको उनले जनाए ।

४५ देश सहभागि एसियन गेम्समा नेपाल हाल ३३ औं रहेको उल्लेख गर्दै सदस्य सचिव विष्टले नेपालले धेरै खेलमा सुधार गरेको भए पनि पदक आशा गरेको तेक्वान्दो, जुडो जस्ता खेलमा भने सोचे अनुरुप गर्न नसकेको बताए । साफ गेम्समा प्याराग्लाईडिङ समेत थपिएकोले अब पोखरामा सागका ७ खेलहरु हुने सम्भावना रहेको उनको भनाइछ ।

विष्टले आर्थिक कारणले गर्दा साफ गेम्स वैशाख सम्म सर्न सक्ने बताएका छन।  साफ गेम्सको सवै तयारी तिव्र पारिए पनि आर्थिक कारणले गर्दा साफ गेम्स प्रभावित हुन सक्ने उनले बताएका हुन । उनले भने “ हामीले साफ गेम्स तोकिएकै मिति फागुनमै गर्ने पक्षमा छौं, त्यसको तयारीमा काठमाण्डौं र पोखरमा खेलकुदक पुर्वाधार निमार्ण तथा मर्मत सम्हार भई रहेको छ, पुर्वाधारका हिसावले लगभग हामीले सम्पुर्ण तयारी ५ महिना भित्र पुरा गर्ने पक्षमा छौं तर साफलाई लक्षित पुर्वाधार निमार्णमा केही रकम अपुग भएकोले त्यसको जोहो अर्थमन्त्रालयले समयमै गर्न सकेको खण्डमा हामीले तोकिएकै मितिमा नेपालमा साफ गर्न सक्ने अबस्थामा छौं। ”

आगामी ३ देखि ४ महिना भित्रमा करिब एक अर्ब ५० करोडको बजेट निकासा नभए फागुनमा हुने भनिएको साफ गेम्सको मिति सर्ने सदस्य सचिव विष्टले जनाए । साफ गेम्सलाई लक्षित गरी हालसम्म करिब २ अर्ब खर्च भएको बताउदै सदस्य सचिव विष्टले आगामी १५ दिन भित्रमा साग गेम्स सम्पन्न गर्न मुल आयोजक समिति सहितको विभिन्न उपसमितिहरु गठन गरी अघि बढ्नु पर्ने जनाए ।

पोखरा, ईटहरी र दाङलाई स्पोर्टस सिटिको रुपमा राखेपले अघि बढाउन खोजेको बताउदै सदस्य सचिव विष्टले पोखराको बारेमा अध्ययन सहितको प्रतिवेदन तयारी पारी पोखरा महानगरपालिकासंग समन्वय गर्ने जनाए । पोखरा क्षेत्रमा र्याफ्टीङ, क्यानोनीङ, अल्ट्रा म्याराथन लगायतका सहासिक खेलहरुको धेरै सम्भावना भएको उनले दाबी गरे ।

मञ्चका अध्यक्ष केशव पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सचिव रन्जन अधिकारीले जानकारी दिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button