लामाचौर तिज महोत्सवको तयारी पुरा

राष्ट्रिय महिला भलिवल प्रतियोगितामा तीन विभागिय सहित ७ टिम सहभागि हुने

डिएनबी.पोखरा न्यूज- २१, भदौ ।

पोखराको लामाचौरमा यही भदौं २३ गते देखि सुरु हुने लामाचौर तीज महोत्सव २०७५ को अवसरमा संचालन हुने राष्ट्रिय महिला भलिवल प्रतियोगितामा तीन विभागिय सहित ७ टिमको सहभागिता हुने भएको छ । भदौ २७ गतेसम्म लामाचौरमा संचालन हुने उक्त प्रतियोगितामा तीन विभागिय सहित ७ टिमको सहभागिता हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा संचालन हुने उक्त प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको ए.पि.एफ., नेपाल प्रहरी, नेपाली सेना, काठमाण्डौंको न्यू डाईमण्ड एकेडेमी, जाउलाखेल भलिवल प्रशिक्षण केन्द्र, चितवनको चितवन टाइगर र पोखराको टप्स बोर्डिङ स्कुल गरी ७ टिमको सहभागिता हुने भएको समाजका अध्यक्ष बम बहादुर गुरुङले बताए । साथै खेल तालिका समेत विहिबार सार्वजनिक गरिएको छ । भलिवल प्रतियोगिता भने २५ गते देखि २७ गतेसम्म चल्ने भएको छ । भदौ २५ गते लिग चरणका ६ वटा खेलहरु हुने भएका छन । समुह बीमा काठमाण्डौंको न्यू डाईमण्ड एकेडेमी, पोखराको टप्स मावि र त्रिभुवन आर्मी क्लव रहेका छन बाँकी समुह ए मा रहेका छन् ।

लिग चरणका खेलमा प्रबेश शुल्क ५०, सेमिफाइनलका खेलमा एक सय र फाइनल खेलको लागि दुई सय रुपैया निर्धारण गरिएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । यस बर्ष पुरस्कारमा राषि बृद्धि गरिएको छ । विजेतालाइ यस बर्ष २४ हजार ९ सय १, उपविजेतालाई १४ हजार ९ सय ४ रुपैया बृद्धि भएको हो । प्रतियोगितामा विजेता टिमले एक लाख रुपैया र दोश्रो हुनेले ६५ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने भएको संयोजक श्रेष्ठले जनाए । प्रतियोगितामा तेश्रो हुनेले २५ हजार, चौथो हुनेले १५ हजार पुरस्कार प्राप्त गर्नेछन। त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय रुपैया पुरस्कार प्रदान गरिने भएको छ ।

लामाचौर तीज महोत्सवको अवसरमा अन्तर बिद्यालय छात्रा भलिवल प्रतियोगिता, नर बहादुर बानिया स्मृती प्रदेश स्तरिय सितोरियो कराँते प्रतियोगिता, अन्तर समुह तीज गीत प्रतियोगिता, अन्तर बिद्यालय लोकनृत्य प्रतियोगिता, खुल्ला युगल नृत्य प्रतियोगिता, महिला समुहगत लोक नृत्य प्रतियोगिता लगातका प्रतियोगिताहरु हुने भएको पुर्वअध्यक्ष एवं प्रचार संयोजक धर्ममान सिंह भण्डारीले बताए । अन्तर बिद्यालय छात्रा भलिवल प्रतियोगिता, अन्तर समुह तीज गीत प्रतियोगिता, अन्तर बिद्यालय लोकनृत्य प्रतियोगितामा विजेताले जनहि २५ हजार र उपविजेताले १५ हजार पुरस्कार पाउने भएका हुन।

महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा संचालन हुने उक्त महोत्सवको तयारी पुरा भएको अध्यक्ष बम बहादुर गुरुङले बताए । “मौलिक संस्कृतिको जगेर्ना गरौं” भन्ने उद्घोषका साथ आयोजना हुने उक्त महोत्सवमा सांस्कृतिक तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने समाजका अध्यक्ष गुरुङले बताए ।

समाजको २२ औं बार्षिकोत्सवको अवसरमा आयोजना हुने उक्त महोत्सव पोखरा लामाचौरमा रहेको इन्द्रराज्य लक्ष्मी माविको परिसरमा संचालन हुने भएको हो । महोत्सवबाट बचत हुने रकम समाजले संचालन गर्दै आएको एम्बुलेन्स तथा शव वहान सेवामा खर्च गरिने भएको पुर्व अध्यक्ष एवं आकस्मिक सेवा संयोजक संजयकुमार अधिकारीले बताए । तीज पर्वको अवसरमा महिलाहरुको खेलकुदको क्षेत्रबाट शसक्तिकरण गर्दै खेलकुद क्षेत्रको विकास गराउने उद्धेश्यले विभिन्न खेलकुद प्रतियोगितालाई निरन्तरता दिदै आएको भण्डारीले दाबी गरे ।

उक्त महोत्सव सम्पन्न गर्न करिब ४० लाख १५ हजार ६ सय खर्च लाग्ने भएको समाजका सचिव रेश्मा शेरचन अधिकारीले बताईन। महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button