बेनी अस्पतालमा चिकित्सक अभाव

स्वास्थ्य मन्त्रालयबाट सरुवा भएका तीन चिकित्सक काज मिलाएर पोखरामा

पोखरा न्यूज- २७, भदौ ।

म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पताल महिनौँ देखि प्रशासनिक र व्यवस्थापकीय रुपमा नेतृत्वबिहीन अवस्थामा छ । यसबाट अस्पतालको गतिविधि र सेवा प्रवाह प्रभावित बनेको छ ।

प्रदेश सरकार र अस्पताल विकास समितिले नेतृत्व चयनमा ध्यान नदिँदा अवस्था भद्रगोल बन्न पुगेको हो । बेनी अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेको दुई महिना अघि स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ । उनको सरुवा पछि मन्त्रालयले अर्को कर्मचारी पठाएको छैन् । बेनी अस्पताल विकास समितिका पूर्व अध्यक्ष माधवप्रसाद रेग्मी अस्पतालको समस्या बढ्दै गएको बताउछन् ।

हाल मेडिकल अधिकृत भुषण सुवेदीलाई अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यालय प्रमुख नहुँदा आर्थिक गतिविधि ठप्प छ । कर्मचारी र स्वास्थ्यकर्मीले काम गर्न अटेर गर्न थालेका छन । अस्पतालका स्रोत साधनको दुरुपयोग हुन थालेको छ । निगरानी र नियन्त्रण नहुँदा सेवा प्रवाह कमजोर बन्न थालेको सर्वसाधारणको गुनासो छ । नेतृत्वको अभावमा काम गर्न कठिनाइ भएको मेडिकल अधिकृत बिराट शर्माले बताए ।

“दरबन्दीअनुसार चिकित्सक नहुँदा काम गर्न समस्या भएको छ”, उनले भने, “प्रदेशको विभागीयमन्त्री र सङ्घीय मन्त्रालयलाई जानकारी गराए पनि सुनुवाइ भएको छैन ।” आर्थिक विषयमा निमित्तलाई निर्णय गर्ने अधिकार नहुँदा एम्बुलेन्ससमेत मर्मत गर्न सकिएको छैन । उपकरण र जनशक्ति तयार भए पनि नेतृत्वको अभावमा डायलाइसिस सेवा शुरु गर्न ढिलाइ भएको छ ।

रघुगङ्गा गाउँपालिका–३ पिप्ले घर भई हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका माधव सुवेदीका परिवारले अस्पताललाई रु २० लाखभन्दा बढी मूल्य पर्ने दुई थान डायलाइसिस उपकरण उपलब्ध गराएका छन् ।

जनशक्तिको व्यवस्था र उनीहरूलाई तालीमसमेत दिएर डायलाइसिस सेवा शुरु गर्ने तयारी गरे पनि नेतृत्व गर्ने व्यक्ति नहुँदा अन्योलता भएको अस्पतालका चिकित्सक नवराज बास्ताकोटीले बताए । तीन वर्ष अघि पचास शैयामा स्तरोन्नति भएको अस्पतालमा चार मेडिकल अधिकृत र नौ विशेषज्ञ चिकित्सको दरबन्दी छ । हाल दुई मेडिकल अधिकृत र एक विशेषज्ञ चिकित्सक मात्र कार्यरत छन् । दुई मेडिकल अधिकृत अम्बालिका शाक्य र हेमा जोशी अध्ययन बिदामा छन् ।

हालै स्वास्थ्य मन्त्रालयबाट सरुवा भएका तीन चिकित्सक काज मिलाएर पोखरा बसेको अस्पताल प्रशासनले जनाएको छ । रेडियोलोजिष्टको अत्तोपत्तो छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button