पोखरा क्षेत्रका विपन्न नागरिकलाई उद्यमी बनाउन महानगरले प्रेरित गर्छ – मेयर जिसी

पोखरा न्यूज- ३१, भदौ  ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले विपन्न नागरिकलाई उद्यमी बनाउन सहयोग गर्ने बताएका छन् । भौतिक पूर्वाधार र प्रविधिको विकासले मात्र समृद्ध पोखराको सपना पूरा नहुने भन्दै मेयर जिसीले विपन्न नागरिकलाई आय आर्जन र उद्यमशीलताको बाटो रोज्न आग्रह समेत गरे ।

पोखरा महानगरपालिका वडा नं. १९ को आयोजनामा लामाचौरको पास्तेमा भएको तीन महिने तान बुनाइ तालिमको समापनमा बोल्दै जिसीले तालिम लिएर मात्र आम्दानी गर्न नसकिने बताए । ‘तालिमले तपाईको जीवनमा परिर्वतन आउँछ कि आउँदैन, परिवर्तनको ग्यारेन्टी चाहिन्छ,’ उनले भने,‘ हामी सबै किसिमको सहयोग गर्न तयार छौं ।’ राज्यले आफ्ना नागरिकलाई उद्यमशीलता र विकासको बाटोमा लाग्न प्रोत्साहन मात्र गर्न सक्ने भन्दै त्यसका लागि नगरबासी आफै तयार हुनुपर्ने उनको भनाइ छ ।

फुर्सदको समयलाई समेत सदुपयोग गरेर आफ्नो सीप मार्फत् आयआर्जनमा लाग्न उनले स्थानीय महिलालाई आग्रह गरे । सीपलाई सिर्जनशीलता मार्फत नयाँ नयाँ बस्तु उत्पादन गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि बजारको अभाव नहुने बताए । ‘पहिले पहिले हाम्रा आमा, दिदी बहिनीलाई दुना टपरी बनाउन कसैले सिकाएका थिएनन्,’ मेयर जिसीले भने, ‘अहिले तालिम दिनुपरेको छ ।’ इच्छाशक्ति भएमा जुनसुकै काममा पनि सफलता पाउन सकिने उनको निस्कर्ष छ । मेयर जिसीले पास्तेमा निर्माणाधीन खेलमैदान, बाटो, खानेपानी लगायत पूर्वाधारमा पनि महानगरले सहयोग गरेको बताए ।

कार्यक्रममा बोल्दै पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले आत्मनिर्भर र स्वाभिमानको बाटो रोज्न वडाबासीलाई आग्रह गरे । उनले आर्थिक उपार्जनका योजनामा वडा र महानगरको समन्वयमा उद्यमशीलताका कार्यक्रम चलाउने समेत बताए । कार्यक्रममा स्थानीय सिर्जना आमा समूहका अध्यक्ष दुर्गा बस्नेतले महिलाको समय खेर जान नदिइ आयआर्जन गर्न सीप विकासले सहयोग गर्ने बताए । यस्तै, असल छिमेकी सहयोगी संघ गोनेसाका कमला रिमालले महिलाको क्षमता उजागर गर्न उत्प्रेरणाको खाँचो रहेको बताए । तालिममा १६ जना महिलाको सहभागिता रहेको प्रशिक्षक सरिता गुरुङले जानकारी दिइन् ।

कार्यक्रममा स्थानीय जुनेली आमा समूहका अध्यक्ष अरुणा लामा, पास्ते खेल मैदान निर्माण समितिका अध्यक्ष सुरेन्द्रमानसिंह भण्डारी, नेपाली कांग्रेसका प्रतिनिधि महेश्वर पौडेल, वडा सदस्य कृष्णप्रसाद गौतम लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत विजय गुरुय गुरुङले राखेका थिए भने सञ्चालन वडा सदस्य कोपिला केसीले गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button