विषाक्त मदिराबाट धादिङका घले सहित ६ नेपालीको मृत्यु, १६ बिरामी

पोखरा न्यूज – ०३, असोज ।

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट बसेरी–३ धादिङका मीमबहादुर घले, मसिना–६, रुपन्देही रामकुमार यादव, अमरगढी–५, डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा–९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९, इलामका बलबहादुर कुलुङ्ग र ठेगना नखुलेका आइतसिंह गोलेको मृत्यु भएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

मृतकका शव मलेसियाका विभिन्न अस्पतालमा राखिएको छ । विषक्त मदिरा सेवनबाटै १६ जना बिरामी परेका छन् । दूतावासका अनुसार रानीचुरी–५ सिन्धुलीका जीतबहादुर माझी, रघुनाथपुर–६, बाराका राधेश्याम बैठा, फरेना–७, रुपन्देहीका रामचन्द्र लोध, च्याङ्ली–२, गोरखाका लोकबहादुर बराम, ढुङ्ग्रेखोला–८, सर्लाहीका रिखामान स्याङ्ताङ, देउराली–८, परासीका दुर्गासिंह राना, चोकामागु–६, पाँचथरका सेतवीर तुम्बाप्तो, बाबियाविर्ता–३, मोरङका जम्बिरलाला झाँगड, ठेगाना नखुलेकी सरु मगर, सकुवल घिसिङ, राजेशकुमार, बिमल कार्कीको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मदिरा सेवनबाट बिरामी परेका सिद्धकाली–४, सङ्खुवासभाका लुङ्गनाथ मगर, मैनापोखर–३ बर्दियाका जीतबहादुर माझी, महेन्द्रनगर–६, सुनसरीका दुर्गाबहादुर राई र राङ्सी–४ रोल्पाका भागीमान डाँगी उपचारपश्चात कम्पनीमा फर्किसकेको दूतावासले जनाएको छ ।

मृतकको शव परीक्षण तथा अन्य आवश्यक अनुसन्धान प्रक्रिया सकिनासाथ सम्बन्धित रोजगारदाताको सहयोगमा नेपाल पठाउन पहल भइरहेको मलेसियाका लागि नेपाली कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिए ।

विषक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले प्रहरी मुख्यालसँग सम्पर्क राखी घटनाका बारेमा जानकारी लिएको थियो । मलेसियाका लागि कावा राजदूत खरेलले राति नै नेपालीको उपचार भइरहेका अस्पतालमा पुगेर उपचारमा सहजीकरण गर्नुभएको थियो ।

दूतावासले दुःखद् घटनामा परी ज्यान गुमाउने नेपालीका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ । त्यस्तै गम्भीर बिरामी भई उपचाररत सबै नेपालीको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेको छ ।

घटनामा मृत्यु हुनेको विस्तृत शव परीक्षण प्रतिवेदन आउन बाँकी नै रहेको र विषाक्त मदिारको स्रोत तथा यसमा जिम्मेवारको समबन्धमा मलेसियाको प्रहरी तथा अधिकारीले अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ । घटनाको विस्तृत विवरण एवं सूचना सम्बन्धित निकायबाट प्राप्त भएपछि सार्वजनिक गरिने बताइएको छ ।

मलेसियामा नेपाली निम्नस्तरको र असुरक्षित मदिरा सेवनको कारणले मुत्यु हुने र मादक पदार्थ सेवनका कारण अन्य दुःखद् घटना यस अघि पनि घट्ने गरेपनि यति ठूलो सङ्ख्यामा हताहति भएको यो पहिलोपटक भएको दूतावासले जनाएको छ ।

मलेसियामा रोजगारीका लागि आएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आफ्नो स्वास्थ्य तथा सुरक्षामा विशेष ध्यान पु¥याउन दूतावासले बेलाबेलामा सचेतनात्मक सन्देशसहित आह्वान गर्दै आएको छ ।

नजिकै आउँदै गरेको दसैँ, तिहार र छठ जस्ता चाडपर्वको सन्दर्भमा नेपाल भन्दा विल्कुल फरक हावापानी, वातावरण र संस्कृति रहेको मलेसियामा आफ्नो स्वास्थ्य तथा सुरक्षामा थप सतर्कता तथा होसियारी अपनाउनसमेत क्वालालम्पुरस्थित नेपाली दूतावासले अपिल गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button