पोखरामा सञ्चालन हुने पिपिएल टी-२० क्रिकेटका लागि खेलाडी दर्ता प्रक्रिया शुरु

पोखरा न्यूज- ०३, असोज ।

आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया आजदेखि शुरु भएको छ ।

प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आज विज्ञप्ति जारी गरी प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको जनाएको हो । खेलाडी दर्ता प्रक्रिया एक सातासम्म रहनेछ । खेलाडीले आजैको दिनबाट असोज ९ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् ।

खेलाडीले लिगको अधिकारिक वेबसाइट https://www.ppl-t20.com  यहाँ बाट आफ्नो नाम दर्ता गराउन सक्नेछन् । खेलाडीले दर्ता शुल्कबापत रु एक हजार तिर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ । उक्त रकम ई सेवाबाट बुझाउन सकिनेसमेत आयोजकले बताएको छ ।

प्रतियोगिताका लागि आयोजकले खेलाडीलाई तीन/तीन श्रेणीमा विभाजन गरी दर्ता प्रक्रिया शुरु गरेको जनाएको छ । खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभेल र अनक्याप्ड खेलाडी गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।

क्याप्ड सिनियरमा नेपाली सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी रहनेछन् । अक्सनमा यस श्रेणीका खेलाडीको न्यूनतम मूल्य रु ५० हजारदेखि दुई लाख ५० हजारसम्म रहनेछ । क्याप्ड एज लेभेलमा नेपाली टोलीबाट उमेर समूहका प्रतियोगिता खेलिसकेका खेलाडी रहनेछन् । यस श्रेणीका खेलाडीको न्यूनतम मूल्य रु ५० हजारदेखि एक लाख ५० हजारसम्म रहनेछ ।

त्यस्तै अनक्याप्ड खेलाडी न्यूनतम मूल्य रु ३० हजारदेखि एक लाखसम्म रहेको छ । लिगमा नौ टोली सहभागी हुनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button