पोखरामा जीवितै भेटिए भूकम्पमा मरेका भनिएका व्यक्ति

हरि बाँस्तोला, पोखरा न्यूज- ५ ,असोज ।

झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन्  । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो ।

विसं २०७२ वैशाख १२ गते काठमाडौँको कपनमा जीवन र उनका आफन्तसहित पाँच जना एउटा कोठामा बसेर पढिरहेको समयमा भूकम्प आएपछि उनि सम्पर्कविहीन थिए  । भूकम्पछि अन्य चार जना सम्पर्कमा आए पनि उनि लामो समयसम्म सम्पर्कमा नआएपछि मृत्यु भएको हुनसक्ने ठानेर घरमा काजकिरिया गरिएको उनको ठूलोबुबा हरि बूढाले  जानकारी गराए ।

पोखरामा यातायात मजदूरका रुपमा काम गरिरहेको सुराकी पाएर खोज्न आएका उनका ठूलो बुबाले भने , “पोखरा नयाँबजारस्थित पृथ्वी माइक्रो बस काउन्टरमा देखेँ तर मलाई देख्नासाथ उनी भागे ।” जीवन पोखरामा छ भन्ने थाहा पाएसँगै हाल नेपालगञ्जमा बस्दै आएकी जीवनकी आमा जानकीले छोरा खोजेर ल्याउन बारम्बार आग्रह गरेपछि काठमाडौँको जोरपाटीमा खाद्यान्नको थोक बिक्रीको कारोवार बन्द गरेर पोखरा आएको उनले बताए ।

उनका अनुसार छोरो हराएपछिको पिरले ४० वर्षीय आमा जानकीको रक्तचाप बढेको छ भने निन्द्रा लाग्नका लागि नियमित औषधि सेवन गर्नु परेको छ भने बुबा किसन बूढा रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन्  । उमेर सानो भएका कारण व्रतबन्ध नभएको र साना बालबच्चाको किरिया गर्ने विधिअनुसार जेठोेछोरा जीवनको काजकिररिया गरिएको उनले  बताए ।

फुपाजु नेत्र धामीले जीवन भागे पनि उसलाई खोजेर घर लैजाने बताए । पोखरा माइक्रोबसमा सिटी भाइका उपनामबाट परिचित पोखरा १४ चाउथे बस्दै आएका जीवनलाई सबैको सहयोगमा लिएर आमा जानकीसँग पु¥याउने धामीको धोको छ ।

नेपालगञ्जमा आमासँगै बस्दै आएका भाइ र बहिनी पनि दाजु जीवन आउने प्रतिक्षामा  छन् । जीवनलाई भेटेर लिएर मात्र जाने अठोटका साथ उनका ठूलोबुबा हरि बूढा यतिबेला पोखरामा भतिजाको खोजीमा भौँतारिएका छन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button