पर्यटन दिवसको अवसरमा पोखरामा पर्यटकको स्वागत

गणेश बराल,पोखरा न्यूज – ११, असोज ।

३९ औँ विश्व पर्यटन दिवसका अवसरमा पोखरामा पर्यटकको स्वागत गरिएको छ । हवाई मार्ग हुदै पोखरा झरेका पर्यटकलाई विमानस्थलमा स्वागत गरिएको हो ।

पश्चिमान्चल होटल संघ पोखराको संयोजकत्वमा पोखरा पर्यटन परिषद् लगायत पर्यटन सम्बद्ध विभिन्न १४ वटा सङ्घ संस्थाका प्रतिनिधिले सामुहिक रुपमा विमानस्थलमा पर्यटकहरुको स्वागत गरेको पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए ।

शुक्रबार बिहान ७:०० बजे तारा एअरलाइन्सको विमानबाट तथा ७ :२० बजे बुद्ध एअरलाइन्सको विमानबाट पोखरा विमानस्थलमा उत्रिएका विदेशी पर्यटक सँगै आन्तरिक पर्यटकलाई बाजागाजा सहित फुलमाला लगाई स्वागत तथा सम्मान गरिएको अध्यक्ष तुलाचनले जानकारी दिए ।

सम्मानपछि पर्यटकहरु बाजाको तालमा नाचगानमा समेत सरिक भएका थिए ।

पर्यटन दिवसकै अवसरमा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले मिनि सडक महोत्सव आयोजना गर्दैछ ।  लेकसाइडको बाराही घाटदेखि खहरे सम्मको झण्डै १ किलोमिटर सडक क्षेत्रमा मिनि सडक महोत्सव सुरु हुन लागेको रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बरालले बताए ।

साँझ ५ बजेबाट राति १२ बजे सम्म उक्त महोत्सव संचालन हुने कार्यक्रमका संयोजक समेत रहेका बरालले जानकारी दिए ।

महोत्सवमा विभिन्न देशका खाना, नेपाली मौलिक साँस्कृतीक नृत्य, नेवारी तयामचा, पञ्चेबाजा तथा पप् व्याण्डहरुको प्रस्तुती रहने बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button