तनहुँ बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला

पोखरा न्यूज – १७, असोज ।

बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिका भित्र बसोबास गर्ने सर्वसाधारणका लागि शेयर खुल्ला गरेको हो ।

बन्दीपुरमा बसोबास गर्नेले रु एक लाखदेखि रु पाँच लाखसम्मको शेयर खरिद गर्न सक्ने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिए । कम्पनीले बन्दीपुरवासीका लागि ११ लाख २० हजार कित्ता शेयर छुट्याएको छ । बन्दीपुर केबलकार कम्पनी प्रालि र आरकेडी रियलस्टेट कन्स्ट्रक्सनको लगानीमा बन्दीपुरमा केबलकार निर्माण हुन लागेको हो । केबलकारको गत साउनमा शिलान्यास गरिएको थियो । हाल केबलकार जडानको काम भइरहेको छ ।

केबलकारमा स्थानीय अपनत्व बढाउन कम्पनीले केबलकार कम्पनीलाई पब्लिक कम्पनीको रूपमा विकास गर्ने जनाएको छ । बन्दीपुर आसपासका नागरिकलाई रु ७ हजार ५०० तिरेपछि १० वर्षसम्म केबलकारको सेवा प्रदान गरिने कम्पनीले जनाएको छ  ।  कम्पनीका अनुसार सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत एक जना  समाजसेवी तथा केबलकार प्रवद्र्धनमा सहयोग पु¥याउने तीन जना  पत्रकारलाई वार्षिक रु एक लाखको शेयरले सम्मानित गरिनेछ ।

बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि छिमेकी देश भारतमा ‘चलिए बन्दीपुर’ अभियान तथा धार्मिक पर्यटनको विकास गर्न ‘चार धाम बन्दीपुर जाम’ अभियान सञ्चालन गरिनेछ । करीब रु ५६ करोडको लागतमा निर्माण हुन लागेको केबलकार १५ महीनाभित्र सक्ने लक्ष्य छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एक घण्टामा दुई सय जनाले वारपार गर्न सक्नेछन् । झण्डै १० रोपनी क्षेत्रफलमा निर्माण हुने केबलकारले बन्दीपुर घुम्न आउने पर्यटकलाई अझ बढी आकर्षित गर्ने निर्माण कम्पनीको विश्वास छ । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने बताइएको छ ।

कम्पनीले स्थानीयवासीको सहकार्यमा होटल तथा रेष्टुराँ खोल्ने योजना बनाएको छ । बटम स्टेशनमा कार, मोटरसाइकल र निजी सवारीसाधन राख्नका लागि पार्किङको समेत व्यवस्था गरिने छ । ठूल्ढुङ्गेबाट शुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । ठूल्ढुङ्गेबाट बरालथोकसम्मको लम्बाइ एक हजार ६०० मिटर रहेको छ । डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो चढ्नु पर्छ । केबलकार निर्माण भएपछि सो दूरी पार गर्न नौ मिनेट लाग्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button