प्याराग्लाइडिङको वल्र्ड कप गर्ने अवसर पोखराले गुमायो, स्याङजा तयारीमा जुट्दै

डिएनबी, पोखरा न्यूज – १७, असोज ।

विश्वमै प्याराग्लाइडिङको उत्कृष्ट पाँच गन्तब्य मध्येमा पर्ने भनिएको पोखरामा  प्याराग्लाइडिङको वल्र्ड कप भने नहुने भएको छ  । नेपालमै पहिलो पटक प्याराग्लाइडिङको वल्र्ड कप गर्ने अवसर पाएको पोखराले उचित ढंगले व्यबस्थापन गर्न नसक्दा अन्ततः पोखराको विकल्पमा स्याङजामा  वल्र्ड कप हुने भएको हो ।

यस अघि पोखरामा १७ औं संस्करण सम्म नेपाल खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता र प्याराग्लाइडिङको प्रि वल्र्ड कप (एफएआई क्याटागोरी टु) समेत सम्पन्न भई वल्र्ड कपको तयारी हुदै गर्दा पोखरा महानगरपालिका, प्याराग्लाइडिङका खेल संघ संस्था र व्यवसायीहरुको बिच करको बिषयमा बिबाद टुंगाउन नसक्दा अन्ततः उक्त प्रतियोगिता पोखरा देखि करिब ७५ किलोमिटर टाडाको दुरी स्याङजामा हुने भएको हो । पोखराका खेलाडीहरु संलग्न भएको प्याराग्लाइडिङले यस बर्षको एसियाली गेम्समा रजत पदक ल्याउदै नेपालको नाम उचो पार्न सफल हुदा हुदै पोखरा क्षेत्रका स्थानिय गम्भिर हुन नसकेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिव तथा उक्त प्रतियोगिताका संयोजक समेत रहेका सैलेन्द्र रावतले बताए ।

पोखरा महानगरपालिकाले जग्गा उपब्ध गराउन नसक्दा पोखरामा हुने उक्त प्रतियोगिता स्याङजाको भिरकोटमा   हुने भएको उनले जनाए । उनले भने “ वल्र्ड कप गर्नको लागि प्याराग्लाइडिङ उडान (टेकअफ) को लागि कम्तिमा ४० वाई ४० मिटर र अवतरण( ल्याण्डिङ) को लागि १०० वाई १०० मिटर जग्गा आवश्यक भएको उक्त जग्गा महानगरपालिकाले उपलब्ध गराउन नसक्दा हामीले पोखराको बिल्कपमा स्याङजा पुगेका हौं । ” महानगरपालिकासंग पटक पटक उक्त जग्गा उपलब्ध गराउन माग गर्दा कुनै सुनुवाई नभए पछि आफुहरु विकल्प तर्फ लागेको उनले जनाए । स्याङ्जाका सबै स्थानिय निकाय वल्र्ड कपको तयारीमा जुटेको तर पोखरा महानगर भने अनुचित कर तेसारेर  आतंकित पार्न लागेको उनको कथन छ  ।

कास्कीको सराङकोटस्थित तोरीपानीको क्षेत्रमा १४ रोपनी जग्गा प्याराग्लाइडिङ उडानका लागि उपयुक्त  देखेर आफुहरुले पोखरा महानगरपालिका–२४ बाट समेत अनुमति लिई महानगरपालिकामा अनुमतिका लागि फाइल पेस गर्दा काम अघि नबढेको नेपाली टिमका प्याराग्लाइडिङ प्रशिक्षक योगेश भट्टराईले बताए । पोखरा महानगरपालिकाले सहमति मात्र दिएको खण्डमा आफूहरुले प्याराग्लाइडिङ प्रतियोगिताको लागि न्यूनतम आवश्यक पूर्वाधार निर्माणमा गर्न लाग्ने हवाई खेलकुद संस्था नाका अध्यक्ष समेत रहेका प्रशिक्षक भट्टराईले बताए । राखेपबाट पोखरामा प्याराग्लाइइडिङ खेलको पुर्वाधार विकासको लागि विनियोजन गरेको ३० लाख रुपैया फ्रिज हुने उनले बताए ।

यस बिषयमा पोखरा महानगरापालिकाका उपमेयर मन्जुदेवि गुरुङले उक्त प्रतियोगिताको लागि आफुहरु सहितको टोलीले जग्गा अवलोकन गरे पनि प्रतियोगिता आयोजक र व्यवसायीहरुले महानगरपालिकासंग पछि कुनै समन्वय नगरेको बताइन। व्यवसायिहरुले महानगरपालिकामा तिर्नुपर्ने कर नतिरेर पोखराको विकल्पमा अनेत्र जानु उचित नभएको उनले बताईन। उनले भनिन“ प्याराग्लाइडिङ व्यवसायीहरुसंग हामीले पटक पटक छलफल गरी कर तिर्न आग्रह गर्दा अटेर गरेका छन अब हामी छिट्टै बैठक राखेर करा दायरामा ल्याउने तर्फ लाग्छौं । ” महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषनारायण पौडेलले पोखरामा हुने उक्त वल्र्ड कप अनेत्र हुने बिषयमा आफुहरुलाई कुनै जानकारी नभएको बताए । आफुहरुले प्याराग्लाइडिङ खेललाई प्रथामिकता दिदा दिदै व्यवसायीहरु करको दायरामा आउन नसकेको कारण आफु खुसि निर्णय गरेको उनले जनाए ।

पोखरा महानगरपालिकाले प्रति प्याराग्लाइडिङ कम्पनीले बार्षिक रुपमा एक लाख रुपैया राजश्व तिर्नुपर्ने बताई रहदा व्यवसायीहरुले भने पाँच तारे होटलको बार्षिक नविकरण शुल्क बराबर २७ हजार तिर्न तयार रहेको बताए । प्याराग्लाइडिङ कम्पनीले हाल महानगरपालिका सहित तीन ठाँउमा कर तिर्नुपर्ने अबस्था रहेको व्यवसायिहरुले जनाएका छन।  कम्पनीले क्यानमा बार्षिक ९० हजार, पर्यटन मन्त्रालयमा बार्षिक ५० हजार रुपैया राजश्व दिनुपर्ने हुन्छ ।

उक्त वल्र्ड कपमा प्याराग्लाइडिङको एकुरेसी (स्पट ल्याण्डीङ ) व्यक्तिगत र समुह तर्फको महिला तथा पुरुष गरी ४ वटा स्वर्ण पदकका लागि वल्र्ड कप हुने भएको संयोजक रावतले जनाए । उक्त प्रतियोगितामा करिब ३० देशका एक सय ५० भन्दा बढी प्याराग्लाइडिङका पाईलटहरुको सहभागि हुने भएको उनले जनाए । यूरोपका र एसियाका महिला तथा पुरुष प्याराग्लाइडिङ पाईलटहरुको सहभागिता रहने उक्त प्रतियोगितामा हालसम्म करिब ७० भन्दा बढी प्याराग्लाइडिङका पाईलटहरुले अनलाइन मार्फत नाम दर्ता गराएको रावतले जनाए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्याराग्लाइडिङ प्रतियोगिता पोखरामा हुने निर्णय भए पनि यस्तै बिबाद चुलीदै गएमा पोखरामा हुने सम्भावना न्यून रहेको उनले जनाए । त्यसै गरी साफ गेम्स समेत नेपालमा हुने र प्याराग्लाइडिङ पनि पोखरामा हुने प्रवल सम्भावना रहेको छ तर यस्तै बिबाद भएमा पोखराको विकल्प अनेत्र हुन सक्ने बताईन्छ । पोखरामा भएका करिब ६२ बटा प्याराग्लाइडिङ कम्पनीहरुमध्ये हालसम्म महानगरपालिकामा एउटा पनि सुचिकृत नभएको वा करको दायरामा आएका छैनन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button