पर्वतको जलजला गाउँपालिकाद्वारा पर्यटन गुरुयोजना तयार

पोखरा न्यूज- १८, असोज ।

जलजला गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरी गुरुयोजना तयार गरेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्न चालू आर्थिक वर्षदेखि पूर्वाधार निर्माण गर्न योजना तयार पारिएको हो ।

पहिलो चरणमा बेनीदेखि हम्पाल लेकसम्मको पर्यटकीय पदमार्गको पहिचान गरिएको छ भने पदमार्गभित्र पर्ने पर्यटकीय तथा धार्मिक महत्वका स्थानलाई गाउँपालिकाको मुख्य ‘सर्किट रुट’ समेट्ने गरी काम शुरु गरिएको पूर्वाधार समितिका संयोजक देवेन्द्रबहादुर भण्डारीले जानकारी दिए । “पर्यटनको मुख्य आकर्षण पदमार्ग नै हो”, उनले भने , “धुले सडकको विकल्पमा धेरैले पदमार्ग रुचाउँछन् ।” जलजलाभित्र धेरै पर्यटकीय तथा धार्मिक महत्वका स्थान छन् । तिनको व्यवस्थित प्रचारप्रसार तथा भौतिक संरचनाको सम्भाव्यता अध्ययन थालिएको उनले बताए ।

जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल पहिलो चरणमा बेनीदेखि हम्पाल लेकसम्मको पदमार्ग निर्माण गर्न थालिएको बताए । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको पहलमा भू–गर्भविद्सहितको प्राविधिक टोलीले गाउँपालिकाका मुख्य पर्यटकीय गन्तव्यको स्थलगत अध्ययनसमेत गरेको छ । जलजला गाउँपालिका–२ वारिबेनीदेखि मल्लाज, सर्षकुमाई, गिद्धेश्वर, पूर्णगाउँ, तारे, दीपको बराहताल, सिर्कु, कालाञ्जर पर्वत हुँदै हम्पाल लेकसम्मको पदमार्गको सम्भाव्यता अध्ययन गरिएको हो । सबै क्षेत्रको प्याकेज बनाई यहाँ घुम्न आउने पर्यटकलाई बिक्री गर्न सकिने अध्ययन टोलीले सुझाएको जलजाल–४ का वडाध्यक्ष भीष्म मल्लले बताए । बेनीदेखि ती सबै ठाउँको अवलोकन गराई हम्पालको लेकसम्मको यात्रा गराउन सकिन्छ ।

वारिबेनीबाट शुरु भएको यात्रा मल्लाज दरबार, भगवती कोट, जलजला–४ को गुफा, सर्सकुमाईस्थित ऋषिले तपस्या गरेको स्थान, शालिजाको दीपस्थित बराहतालको अवलोकन गराउँदै हम्पाल पुग्न सकिन्छ । हम्पालबाट फर्केपछि जलजला–५ स्थित फलामेडाँडामा भ्युटावर अवलोकन गराउने गाउँपालिकाको योजना छ । “फलामे डाँडामा भ्युटावरको उपयुक्त सम्भावना छ”, मल्लले भने, “समग्र अध्ययनका लागि आएको प्राविधिक टोलीले पनि उपयुक्त भनेको छ । त्यो प्रक्रियामा हामी जुटिसकेका छौँ ।” त्यहाँ बन्ने भ्युटावरबाट म्याग्दी, बाग्लुङ र मुस्ताङका अधिकांश स्थानको अवलोकन गर्न सकिन्छ । हम्पाल गएर फर्केका पर्यटकलाई भ्युटावरबाट लहरै मिलेका हिमशृङ्खलाको अवलोकन गराउन सकिन्छ ।

फलामेडाँडा पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा चिनिएको छ । बेनी, बागलुङ र कुश्माका व्यवसायी, कर्मचारी र विद्यार्थीसमेत शीतल खोज्दै त्यहाँ पुग्ने गरेका छन् । गर्मी छल्नका लागि बेँसीबाट पर्यटक आउने गर्छन् । डाँडाकटेरीका होमस्टेको अवलोकन र बासपछि पर्यटक बेनी फर्कने वा त्यहाँबाट घोडेपानी जान सक्छन् । गाउँपालिकाले हम्पालको लेकमा २२ रोपनी क्षेत्रफलमा ताल बनाउने योजनासमेत बनाएको छ । समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको सो ठाउँमा झण्डै १२ हेक्टर समथर जमीन छ । हम्पालको लेकबाट दलदले जमीन हुँदै बगेको पानीले पूरै जमीन लचकदार भएकाले पनि यो स्थानको नाम जलजला रहन गएको स्थानीयको भनाइ छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालको पहलमा हम्पालमा ताल निर्माण प्रक्रियासमेत थालिएको छ । यहाँ ताल निर्माण भएमा अन्नपूर्ण पदमार्गमा आउने अधिकांश पर्यटक जलजलाको कालाञ्जर पर्वत पुग्न सहज हुने अध्यक्ष मल्लले बताए । “गुरुयोजनाको विस्तृत अध्ययन भइरहेको छ”, उनले भने, “सबै पूर्वाधार एकैपटक बनाउन सम्भव छैन । प्याकेजमा निर्माण गर्ने हो ।” अहिले दैनिक एक हजार बढी पर्यटक जलजलाकै बाटो भएर मुक्तिनाथ जाने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button