म्याग्दीमा बाढीले बगाएको विद्यालयलाई सहयोग

पोखरा न्यूज- १९, असोज ।

कालीगण्डकी नदीको बाढीले भवन बगाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई जस्तापाता सहयोग प्राप्त भएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विभागको समन्वयमा वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन र हुई ग्वाङ मोरल स्टडी सेन्टर सिङ्गापुरको आर्थिक सहयोगमा १० फुटे २९ पाता र ८ फुटे ६९ पाता गरी करीब १३ बण्डल रङ्गिन जस्तापाता प्राप्त भएको हो ।
संस्थाका नेपाल प्रतिनिधि यामबहादुर गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खड्का र प्रधानाध्यापक शान्ति राम्जालीलाई जस्तापाता हस्तान्तरण गरेका थिए ।
गत साउन ३० गते कालीगण्डकीमा आएको बाढीले सो विद्यालयको छ कोठे भवन बगाएपछि हाल स्थानीयको घरको कोठामा पठनपाठन सञ्चालन गरिएको छ । नयाँ भवन निर्माणका लागि जग्गाको व्यवस्थापन र योजना माग गरिएको प्रअ राम्जालीले बताए ।

भवन निर्माणका लागि स्थानीय जगतबहादुर बोहोराले भालेबासमा दुई आना दुई दाम दुई पैसा जग्गा उपलब्ध गराइसकेका छन् । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले व्यक्तिगत रूपमा उपलब्ध गराउनुभएको रु ५० हजारबाट त्रिपाल, म्याट्रेस खरिद गरिएको छ । लर्न नेपालले शिक्षण सामग्री सहयोग गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button